भैरहवा — पार्टी नेतृत्व स्वेच्छाचारी ढंगले चलेको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका जिल्ला उपाध्यक्षसहित तीनजना पदाधिकारीले पार्टी परित्याग गरेका छन् ।
मंगलबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराएका हुन् । पार्टी सदस्यता परित्याग गर्नेमा राप्रपा रुपन्देही उपाध्यक्ष अजयकुमार गुप्ता, राष्ट्रिय प्रजातान्त्रिक महिला समितिकी जिल्ला सल्लाहकार विनिता गुप्ता र राप्रपा रुपन्देही रुपन्देही क्षेत्र नम्बर ३ का उपाध्यक्ष अमित चतुर्वेदी छन् ।
पार्टीको नेतृत्व तह जनभावनाअनुरुप नचलेको, जनतामुखीको सट्टा कार्यकर्तामुखी बनेको, पार्टी नेतृत्व तहमा उमेर कटिसकेका व्यक्ति नै रहने गरेको र आफूहरुका सुझाव बेवास्ता गर्ने गरेको आरोप उनीहरुको छ ।
‘पार्टीमा रहेर गरिएका कामको मूल्याकंन भएन र पार्टीमा रहेका युवा वर्गलाई उचित स्थान दिनेभन्दा जहिल्यै उमेर कटेका व्यक्तिमात्रै नेतृत्वमा रहने काम भएको छ,’ अजय गुप्ताले भने ।
