गर्भनर नियुक्तिको विषय लज्जास्पद बनिसक्यो : उपाध्यक्ष श्रेष्ठ

वैशाख ३०, २०८२

सन्तोष महतारा

The matter of appointment of governor has become shameful: Vice President Shrestha

गुल्मी — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्भनर नियुक्तिको विषय लज्जास्पद बनिसकेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।

वर्तमान सरकारले राष्ट्र बैंकको प्रमुख पद गर्भनरलाई मजाक बनाइरहेको श्रेष्ठले बताए । ‘गर्भनर अबकास हुनुभन्दा एक महिना अगावै नियुक्ति गरिसक्नुपर्ने कानुनी प्रावधान छ,’ उनले भने, ‘अहिले कांग्रेसले आफ्नो भागमा परेको सार्वजनिक रुपमा भनिरहेको छ, यो त लज्जास्पद विषय हो ।’ 

उनले गर्भनर सिफारिस समितिले पनि काम नगरेको अरोप लगाए । अहिले गर्भनरको विषय नेपाली जनतालाई सुन्दा पनि लाज हुने भइसकेको उनले बताए । ‘गर्भनर त विज्ञ र स्वच्छ व्यक्ति हुनुपर्ने हो तर कांग्रेस र एमालेले भागवण्डा गरेर देशमाथि खेलबाड गरिरहेका छन्,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने ।

वर्तमान सरकारसँग अंकगणितीय वैधानिकता बाहेक अरु नभएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । सरकार भ्रष्टाचार प्रोत्साहित, निरंकुश र अपारदर्शितामा मात्रै केन्द्रित रहेको उनको अरोप छ ।  

उनले फरक प्रसंगमा नेकपा माओवादी केन्द्र सरकार भत्काउन नचाहेको तर सकारातमक काम गर्न चेतावनी दिइरहेको उनले बताए । आफूहरू अहिले जनता केन्द्रित भएको उनको भनाइ छ । 

उनले आफ्नो पार्टी सरकारमा जान परे सर्तअनुसार मात्रै जाने बताए । ‘हामी सरकारमा जानै परे सर्तअनुसार मात्रै जान्छौं,’ उनले भने, ‘हाम्रो सर्त स्वच्छ भएर सुशासनको अभियान चलाएर काम गर्न पाउनुपर्‍यो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति लक्षित गर्दै ओठे जवाफले देश नचल्ने टिप्पणी गरे । ‘पछिल्ला अभिव्यक्ति प्रधानमन्त्री आफैंले सच्याउनुपर्छ,’ उनले भने, ‘अझ तल्लो तहको टिप्पणी हामी गर्दैनौं, राजनीतिक संस्कार सबैमा आवश्यक छ ।’

श्रेष्ठ वाइसिएल नेपाल गुल्मीको जिल्ला सम्मेलन तथा अधिवेशनलाई सम्बोधन गर्न गुल्मीमा आएका हुन् । उनी मंगलबार बिहान जहाजमार्फत रेसुङ्गा विमानस्थल ओर्लिएका थिए ।

सन्तोष महतारा

Link copied successfully