बीमाको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ

वैशाख ३०, २०८२

काशीराम डाँगी

One person arrested for misappropriation of insurance money

रोल्पा — बीमा गरिदिने आश्वासनपछि आर्थिक हिनामिना गरेको अभियोगमा रोल्पा प्रहरीले एक युवालाई पक्राउ गरेर विश्वासघात कसुर मुद्दा लगाएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा आबद्ध  रोल्पाको होलेरी उप शाखा अन्तर्गत अप्रेसन सपोर्ट पदमा कार्यरत ३१ वर्षीय गणेश पहाडीलाई पक्राउ गरिएको रोल्पा प्रहरीले जनाएको छ । 

उनीमाथि जीवन बीमा गरेर बिमितहरुको १८ लाखभन्दा बढी रकम हिनामिना गरेको अभियोग छ । सल्यानको शारदा नगरपालिका-४ घर भई हाल दाङको घोराही उप–महानगरपालिका-१५ बस्ने उनले होलेरीस्थित उपशाखामा कार्यरत रहेका बेला १८ लाख ६७ हजार ७ सय १ रुपैयाँ हिनामिना गरेको प्रहरीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले पहाडीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको बताए । जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रनि चापागाईंले बताए । 

प्रहरीले पहाडी माथि विश्वासघात सम्बन्धी कसुर गरेको अभियोग लगाएको छ । रोल्पाको होलेरी शाखामा कार्यरत हुँदा बिमितबाट बिमा रकम बुझेको तर बीमा कम्पनीको कम्प्युटर सफ्टवेयरमा उनीहरूको विवरण अद्यावधिक नगरेको आरोप लागेको छ । 

प्रहरीका अनुसार उक्त बीमा कम्पनीमार्फत ५६ जनाले बीमा गरेका थिए । तर बिमितले आफ्नो रकम दाबी गरेपछि उक्त घटना सार्वजनिक भएको हो । हाल आरोपित पहाडी दाङको घोराहीस्थित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी उपप्रादेशिक कार्यालयमा कार्यरत छन् ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully