संघीयता सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

वैशाख २९, २०८२

घनश्याम गौतम

It is necessary to strengthen the provinces to strengthen federalism: Chief Minister Acharya

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन । 

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा अघि बढेको र पूर्णरूपमा आत्मनिर्भर नहुञ्जेल साझेदारहरूको साथ र सहयोग आवश्यक रहेको बताएका हुन् ।

`संघीयताको अभ्यासमा छौँ । प्रदेश नयाँ संरचना हो । सुरुमा कानुन निर्माण गर्ने काम भयो । अब संघीयताको सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउने गरी भूमिका बढाइरहेका छौं,´ उनले भने, `अहिले प्रदेश र स्थानीय सरकार बलियो बन्दै गएका छन् । कार्यक्रमको क्षेत्र अझै विस्तार गर्नुपर्ने देखिन्छ । प्रदेश सरकार सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानमा प्रतिबद्ध छ ।’

यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुले लुम्बिनी प्रदेश सरकारसँग विभिन्न क्षेत्रमा सहकार्य जारी रहेको र संघीयता सवलिकरणका लागि दोस्रो चरणको कार्यक्रम सुरु भएको जानकारी गराएका थिए । 

उनले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत प्रदेश र स्थानीय सरकारको सबलीकरणलाई प्राथमिकतामा राखिएको जानकारी गराउँदै संस्थागत क्षमता वृद्धि गर्नु, सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता ल्याउनु, तथा समावेशी र सहभागी शासन प्रणालीलाई मजबुत बनाउने गरी कार्यक्रम अघि बढिरहेको र आगामी दिनमा पनि सहकार्य निरन्तर हुने जानकारी गराएका थिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully