अर्घाखाँची — सदरमुकाम सन्धिखर्कको मुख्य केन्द्रमा अवस्थित शान्ति बगैंचालाई चिटिक्क पारिएको छ । मुल गेटबाट भित्र छिर्नासाथ हरियाली आँपका रुख र विभिन्न थरीका फूलको बगैंचा छ । गर्मी छल्न गाउँबाट कामले सदरमुकाम आएका र बजारका व्यापारीसमेत बेलुकापख बगैंचाभित्र छिरेर गफिन्छन् ।
फोहोर र दुर्गन्धित बगैचालाई सन्धिखर्क नगरपालिका र स्थानीयले संरक्षण गरेर सुन्दर बनाएपछि पछिल्लो समय सबैको गन्तव्य बनेको हो । करिब १८ रोपनी क्षेत्रफलमा फैलिएको बगैंचाभित्र केही वर्षपहिलेसम्म राजनीतिक भाषण र विभिन्न संघसंस्थाले विरोध एवं सभा गर्ने थलो थियो । कांग्रेसको बीपी स्मृति भवन र एमालेको मदन आश्रित भवन थिए । जसमा राजनीतिक सभा हुन्थे । नगरपालिकाले यस्ता सभा गर्ने ठाउँ नै बन्द गरायो । एमालेको जीर्ण भवनलाई भत्कायो र बीपी स्मृति भवन यत्तिकै छ ।
चारैतिर पर्खालले घेरेर भित्रपट्टि गणेशपाञ्चायन मन्दिर बनाइएको छ । त्यहाँ नित्यपूजा हुने गर्छ । नजिकै आरोग्य केन्द्रको स्थापना छ । यहाँभित्र बुद्धमूर्ति र धर्मशाला छन् । व्यवस्थित रुपमा फूल, बोटविरुवा, वनस्पति लगायत रमणीय उद्यान र पानीको फोहोरा समेत छ ।
बढ्दो सहरीकरणबीच बजारवासीलाई एकछिन भए पनि शान्त र आध्यात्मिक तथा धार्मिक वातावरणमा रहनका निम्ति यो वाटिका महत्वपूर्ण रहेको बगैंचाको रेखेदख गर्दै आएका यमराज पाण्डेले बताए । ‘गर्मीको बेला यो बाटिका शीतल ताप्ने, गफ गर्ने, मनलाई एकाग्र र शान्त बनाउने सुन्दर थलो हो,’ पाण्डेले भने, ‘चिरबिर चराचुरुङ्गीको आवाज पनि सुन्न र चरा ख्न सकिन्छ । विभिन्न थरीका फूलले मनलाई शान्त बनाउँछ, यो सुन्दर ठाउँ हो ।’
२००६ सालमा करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको थियो । त्यतिबेला कुर गाउँका पुनाराम नेपालीले धर्म कमाइने भन्दै एक सय गाईलाई नुन खुवाएर खेत सार्वजनिक भएको घोषणा गरेका थिए । त्यसपछि आँपका रुख रोपेर शान्ति बगैंचा बनाइयो ।
०३२ सालमा सन्धिखर्कमा जिल्ला सदरमुकाम स्थापना भएपछि बगैंचा अतिक्रमण सुरु भयो । नेपालीले दान स्वरुप सार्वजनिक गरेको बगैंचा कसैको स्वामित्वमा नभएकाले सरकारी स्तरबाट अतिक्रमण गर्न सहज भएको थियो । अतिक्रमणभित्र सिँचाइ, सन्धिखर्क नगरपालिका, प्रहरी, आयुर्वेद, भूसंसरक्षण, शिक्षा, घरेलु, अदालत, सरकारी वकिलको कार्यालय, जिसस गेस्ट हाउस, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघको कार्यालय र केही निजी घर बनिसकेका छन् । ०५० सालमा ५ वटा व्यापारिक सटर निर्माण र सन्धिखर्क गोरुसिंगे सडकको ट्रयाक निर्माणले खुम्चिएर अहिले बगैंचाको क्षेत्रफल १८ रोपनी मात्रै छ ।
‘यसरी दिएको जग्गा सरकारले नै संरक्षण गर्नुपर्ने हो,’ पुनारामका नाति बुद्धिबहादुरले भने, ‘उल्टै अतिक्रमण गर्नु दुःखद कुरा हो । कसैको स्वामित्वमा भएन । त्यसैले अतिक्रमण गर्न सजिलो भयो ।’
केही महिनाअघिमात्रै नगरपालिकाले बोरिङ गरेर पानी निकाल्यो । टयांकीमा संकलन गरेको पनि दुईवटा धारामा वितरण गरिएको छ । यहाँ आउजाउ गर्नेले यही पानी पिउँछन् । ‘बगैंचा सुन्दर त छ, यहाँ आउजाउ गर्नेलाई नि:शुल्क पानी वितरण गरेका छौं,’ नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले भने, ‘यो बस्ने, भलाकुसारी गर्ने, शीतल ताप्ने गन्तव्य हो । बजारको बीच भागमा रहेको बगैंचालाई सधैं सुन्दर नै राख्छौं ।’ बिहानदेखि साँझसम्म रेखदेख र संरक्षण गर्न नगरले एकजना हेरालु राखेको छ । बगैंचाभित्र २०३९ सालमा मारिएका विद्यार्थी नेता टंक भुसालको सालिक छ । नगरले फ्री वाइफाईको पनि व्यवस्था गरेको छ ।
