माओवादीबाहेक सबै भ्रष्टाचारी : खनाल

वैशाख २७, २०८२

सन्तोष महतारा

All corrupt except Maoists: Khanal

गुल्मी — नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले आफ्नो पार्टीबाहेक सबै भ्रष्टाचारी भएको आरोप लगाएका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा माओवादी केन्द्रको तेस्रो सम्मेलन तथा अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पार्टी सचिव खनालले यस्तो आरोप लगाएका हुन् ।

देशका पुराना दुई ठूला पार्टीको अहिलेको हविगत र जसले नयाँ पार्टी भनेर घण्टी बोकेर आएका थिए, ती सबै भ्रष्टाचारी भएको खनालको आरोप छ । ‘देशको अहिलेको अवस्था सबैलाई थाहै छ, दुई ठूला पार्टीको हविगत देखिएकै छ,’ उनले भने, ‘जसले नयाँ पार्टी भनेर घण्टी सण्टी बोकेर आएका थिए, ती सबै भ्रष्टाचारी हुन् ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संकेत गर्दै सहकारीको अर्बौं रकम ठगेर खाएको अरोप पनि लगाए । 

‘नयाँ पार्टीको यो बिजोग र पुराना पार्टीको त्यो बिजोगका कारण जे जस्तो भए पनि कमसेकम माओवादी नै रोज्नुपर्छ भन्ने आम अभिव्यक्ति अहिले बनेको छ,’ खनालले भने, ‘अहिलेको सरकार त काण्ड मात्रै गर्न सफल भएको छ ।’ 

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका खनालले माओवादीलाई अहिले २०६४ सालकै पार्टी बन्ने अवसर भएको पनि बताए । उनले माओवादी सानो पार्टीबाट ठूलो भएको र बीचमा खुम्चिए पनि अब पुनः ०६४ सालकै स्थितिमा फर्किने पनि बताए । 

अधिवेशनले हरि ज्ञवालीको नेतृत्वमा ४५ सदस्यीय नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँ कमिटी गठन गरेको छ ।

सन्तोष

Link copied successfully