रूरू र कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्न शालिग्राम महोत्सव 

वैशाख २६, २०८२

माधव अर्याल

Shaligram Festival to promote Shaligram found in Ruru and Kaligandaki

पाल्पा — रूरू क्षेत्र र कालीगण्डकीमा मात्र पाइने शालिग्रामको प्रचारप्रसार गर्न दुई दिने शालिग्राम महोत्सव बिहीबारदेखि सुरु भएको छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरुक्षेत्र रिडी ऋषिकेशव मन्दिरमा सुरु महोत्सवका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग गरेको छ । 

पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको आयोजना तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थानमा महोत्सव भएको हो । कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालिग्राम महोत्सवमा शालिग्रामका विषयमा प्रचारप्रसार, प्रवर्द्धन, महत्त्व लगायतका विषयमा जानकारी दिइने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिए । 

महोत्सवमा पण्डित नारायणानन्द आचार्यले शालिग्रामका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि  चैतन्य कृष्ण महाराजले टिप्पणी गर्ने कार्यक्रम छ । ऋषिकेशव भगवान र कालीगण्डकीका साथै रिडी रूरू क्षेत्रका विषयमा विज्ञ मुरली मोहन बाास्तोलाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ भने त्यसको टिप्पणी महेन्द्र संस्कृत विश्वविद्यालयका पुर्व उपकुलपति रमेश ढकालले गर्ने छन् । महोत्सवले कालीगण्डकी नदी र शालिग्रामको महत्त्वलाई प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास छ ।  

Shaligram Festival to promote Shaligram found in Ruru and Kaligandaki

महोत्सवमा १ हजार ८ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी र्‍यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने कार्यक्रम छ । धार्मिक प्रचारप्रसार हुनुका साथै प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन महोत्सवले सहयोग पुग्ने विश्वास लिइएको छ । रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले विभिन्न स्थानबाट यहाँ आउने गर्छन् । कालीगण्डकीमा स्नान गर्ने र प्रसिद्ध ऋषिकेशव मन्दिरमा दर्शन गर्ने प्रचलन छ । 

Shaligram Festival to promote Shaligram found in Ruru and Kaligandaki

सोह्रौ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्न किवंदन्ती रहेको अध्यक्ष भट्टराईले बताए । कालीगण्डकी नुहाउन र ऋषिकेशव, गायत्रीमाता लगायत विभिन्न देवालयहरूको दर्शन गर्न भक्तजनहरू आउने गर्छन् । ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल भनिन्छ । मणिमुकुन्द सेनबाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेको प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषण बन्न सक्ने विश्वास छ । 

Shaligram Festival to promote Shaligram found in Ruru and Kaligandaki

स्याङ्जामा ‘कालीगण्डकी ए’ जलविद्युत् परियोजना सञ्चालन भएपछि मिर्मिमा ताल बनेको छ । रिडी क्षेत्र भने सुख्खा बनेको छ । मिर्मिदेखि पाल्पाको यम्घाको दर्पुकसम्म सुख्खा जस्तै बनेको छ । रूरू कन्याको जन्मस्थल समेत भएको विभिन्न शास्त्रमा उल्लेख गरिएको छ ।

Shaligram Festival to promote Shaligram found in Ruru and Kaligandaki

भृगुऋषि और्व ऋषि आदिको एकमात्र तपोभूमि यस स्थललाई मानिदै आएको छ । जैविक विविधताले भरिपूर्ण पवित्र तीर्थस्थल नजिक मठ मन्दिर, पार्टी पौवा, पोखरी आदि रहेका छन् । यस क्षेत्रको प्रचारप्रसारमा ध्यान नदिएको, गुरुयोजना निर्माण नभएको, सम्पूर्ण धरोहरहरुको संरक्षण, शवदाह गृह निर्माण नदी तथा वातावरण संरक्षण गर्नु लगायतका काममा चासो दिनुपर्ने स्थानीयको सुझाव छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully