पाल्पाको निस्दीमा जिप दुर्घटना, ६ यात्रु घाइते  

वैशाख २६, २०८२

माधव अर्याल

Jeep accident in Palpa's Nisdi, 6 passengers injured

पाल्पा — पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा ६ यात्रु घाइते भएका छन् । नवलपुरको अरुणखोलाबाट निस्दी गाउँपालिका मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप लामीदमार गाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी–४, मित्याल, झ्याल्टुङका ३९ वर्षीय धनसरी बयम्बु र ३० वर्षीय पुष्पा राई, पुष्पाकै तीन वर्षीय छोरा अभिषेक राई, ९ वर्षीय राजन राई घाइते भएका छन् ।

प्रहरीका अनुसार निस्दी–७, ज्यामिरे सिन्दुरेका ४० वर्षीय गुनबहादुर सोमै मगर, कपिलवस्तु विजयनगर गाउँपालिका–१, बस्ने ५३ वर्षीय टेकबहादुर खण्डलुक मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । 

घाइतेहरुलाई उपचारका लागि गण्डकी प्रदेशअन्तर्गत नवलपुर अरुणखोलातर्फ पठाइएको प्रहरीले जनाएको छ । 

जिपमा चालकसहित १६ जना सवार रहेको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ । दुर्घटनाग्रस्त जिप सडकदेखि झण्डै २० मिटर तल खसेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully