बिरामीलाई घरमै निःशुल्क अक्सिजन कन्सन्ट्रेटर

रेसुंगा नगरपालिकाले दम र निमोनियाका ८६ जना बिरामीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ

वैशाख २६, २०८२

सन्तोष महतारा

Free oxygen concentrator at home to patients

गुल्मी — रेसुंगा नगरपालिका–९ का ९३ वर्षीय लालबहादुर कुँवरलाई गत पुसमा एक्कासि दमको समस्या देखियो । छोरा खिमबहादुरले तुरुन्तै अस्पताल पुर्‍याए । त्यसबेला दमका ६ जना बिरामी अस्पताल भर्ना थिए । त्यसमध्ये लालबहादुरसहित दुईजना मात्र जीवितै फर्किए ।

एक साता अस्पताल बसेको कहालीलाग्दो दृश्य सम्झिँदा अहिले पनि छोरा खिमबहादुर झसंग हुन्छन् । तर अहिले त्यो अवस्था फर्किएको छ । दमका बिरामी लालबहादुर अहिले घरमै निःशुल्क आनन्दको सास फेरिरहेका छन् । ‘अस्पताल बसेर उपचार गरिरहँदा समस्या थियो,’ खिमबहादुरले भने, ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन घरमै निःशुल्क पाउँदा खुसी छौं ।’    

सोही ठाउँका झविलाल पन्थी श्रीमती कमलालाई दमको समस्या हुँदा पाल्पा, बुटवल र पोखरासमेत धाउनुपरेको बताउँछन् । ‘दुई/तीन महिनामै हस्पिटल गइरहनुपर्थ्यो, एकपटकमा न्यूनतम पनि २०/२५ हजार खर्च हुन्थ्यो,’ उनले भने, ‘यति महँगो मेसिन निःशुल्क पाएर घरमै सेवा पाउँदा आधा रोग त्यसै सन्चो भएको अनुभूति भएको छ ।’ 

रेसुंगा–२ की ६४ वर्षीया पुतली थापा पनि दम रोगबाट ग्रसित छिन् । दमको समस्या हुँदा अस्पताल दौड्नैपर्ने र समयमा गाडी नपाउँदा थप समस्या भएको उनी सम्झन्छिन् । ‘बिरामी भएपछि समस्या त हुने नै भयो,’ उनले भनिन्, ‘अहिले त घरमै उपचार पाएकी छु, दिउँसो अक्सिजन नलगाए पनि सास फेर्न सकेकी छु ।’Free oxygen concentrator at home to patients

उनीहरू मात्र होइन, रेसुंगा नगरपालिकाका ८६ जना ज्येष्ठ नागरिक बिरामी अहिले पनि दम र निमोनियाबाट ग्रसित छन् । उनीहरू सबैले घरमै निःशुल्क अक्सिजन कन्सन्ट्रेटर मेसिनमार्फत उपचार पाइरहेका छन् । रेसुंगा नगरपालिकाले दम र निमोनियाका सबै दीर्घ बिरामीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ । जसका कारण बिरामीलाई राहत र बिरामीका आफन्तलाई सहज भएको छ । 

रेसुंगा नगरपालिकाका १ सय ९ बिरामीका परिवारलाई अहिले आर्थिक बचत, समयको सदुपयोग, समयमै उपचार र मानसिक रुपमा पनि सान्त्वना लगायतमा फाइदा भइरहेको छ । हालसम्म रेसुंगा नगरपालिकाका १ सय ९ जना बिरामीले यो सेवा लिइसकेको स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तीमगरले बताइन् । ८६ बिरामीले अहिले पनि यो सेवा लिइरहेका छन् । सेवा लिएर उपचार गरेपछि आवश्यक नपर्नेले मेसिन फिर्ता गरेका छन् । Free oxygen concentrator at home to patients

न्यूनतम १ लाखदेखि अधिकतम १ लाख ७५ हजारसम्म पर्ने १ सय २ वटा अक्सिजन कन्सनट्रेटर मेसिन डेढ करोड लगानीमा बिरामी घरघरमा पुगेको स्वास्थ्य शाखा प्रमुख घर्तीमगरले बताइन् । ‘हाम्रो वातावरणमा पाइने हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीलाई दिने काम अक्सिजन कन्सन्ट्रेटर मेसिनले गर्छ । यो अक्सिजन सिलिन्डरभन्दा सहज हुन्छ । बिजुलीबाट जडान गरेपछि चौबिसै घण्टा शुद्ध अक्सिजन पाइन्छ,’ उनले भनिन् ।  

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले सास फेर्न नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिकाले बिरामीका घरमै अक्सिजन कन्सन्ट्रेटर मेसिन पुर्‍याइएको बताए । ‘हामी निर्वाचित भएर आउँदा दुईवटा मेसिनको भर थियो, सहज सेवा थिएन,’ उनले भने, ‘हामीले मेसिन १ सय २ वटा पुर्‍यायौं, अहिले पर्याप्त छ, सबैले निःशुल्क सेवा पाइरहेका छन् ।’

ग्रामीण भेगमा विपन्न परिवारले एकलाख देखि डेढ लाखसम्ममा अक्सिजन कन्सन्ट्रेटर मेसिन किन्न नसक्ने अवस्था भएकाले पूर्ण रुपमा निःशुल्क बनाएर बिरामीलाई घरमै पुगेर सेवा दिएको नगरप्रमुख पन्थीले बताए । 

सन्तोष

Link copied successfully