बुटवल — लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम वैशाख ३१ गते बुधबार दिनको १ बजे बस्ने गरी आह्वान भएको जनाएका छन् ।
पहिलो बैठकमा बैठक आह्वान सम्बन्धी सूचनाको जानकारी, समसामयिक विषयमा छलफल र शुभकामना अदानप्रदान हुने प्रदेश सभाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले वैशाख ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।
