अन्नबाली लगाउँदा ६ महिना खान नपुग्ने पाखोबारीमा तरकारी खेती, गाउँमै छ विदेशको जस्तो कमाइ
अर्घाखाँची — कक्षा-१२ पढेपछि धेरै दौतरी विदेशिए केहीले मात्रै पढाइलाई निरन्तरता दिए । सन्धिखर्क नगरपालिका–९ अर्घा भीरकटेरीका २८ वर्षीय विमल र २६ वर्षीय सरोज आचार्य दाजुभाइको ध्यान भने विदेशतिर भन्दा पाखेबारीतिर मोडियो।
उनीहरूले १० रोपनी बारीमा आचार्य सरोज कृषि फार्म खोलेर काँक्रा, गोलभेडा, घिरौला, साग, सीमीलगायत तरकारी प्लाष्टिक टनेलभित्र र बाहिर लटरम्म फलाएका छन्।
‘यो पाखोबारीमा वर्षदिन अन्नबाली लगाउँदा ६ महिना मुस्किलले खान पुग्दैनथ्यो,’ सरोजले भने, ‘खनजोत गर्यौं, मलिलो बनायौं, मेहिनेत गरेपछि तरकारी राम्रो उत्पादन भएको छ । तरकारीले वर्षदिन खाने खर्च जोहो गर्दै बैंक बचत पनि भएको छ ।’
यहाँको तरकारी करिब आधा घण्टाको दुरीमा रहेको सदरमुकामको चुत्राबेंसी र सन्धिखर्क बजारमा बिक्री हुन्छ। बाह्रै महिना चल्ने बस, जीप, ट्रक र ट्याक्सीले बोक्छन् । भीरकटेरीसहित आसपासका गाउँमा आचार्य दाजुभाई उमेर समूहका युवा शून्यजस्तै छन् । अध्ययन र वैदेशिक रोजगारीमा छन् ।
विदेश भएकाले छोराछोरी पढाउन गाउँमा ढोका लगाएर सहरमा डेरा गरी बस्नेको लहर छ । ‘हामी सानो छँदा बाँझिएका पाखोबारीमा फल्ने मकै, गहुँ, कोदो, तोरीलगायत अन्नले परिवारलाई खाने खर्च धान्थ्यो, अहिले धेरैले यत्तिकै छोडेर बसाइँसराइ र भाडामा बस्न सहरतिर झरे,’ उनले भने, ‘हामीले तरकारी खेती सुरु गर्दा गाउँलेले तिमीहरू विदेश नगएर किन बारी खनेका छौं, भविष्य बिग्रेला भन्थे । अचेल उनै गाउँले हामीले गरेको कृषिकर्मबाट लोभिएका छन् ।’ पाँच वर्षदेखिको निरन्तरताले कृषिमा सफलता पाइएको उनले बताए ।
खाडीमुलुक पुगेर कमाउने पैसा कुटोकोदालोबाटै आम्दानी गर्न सकिने आचार्यको भनाई छ । ‘बाँझो बारी यति नराम्रोसँग बिग्रिएका रहेछन्, स्थानीय बीउ रोप्दा उत्पादन कम हुन्छ,’ उनले भने, ‘युरिया मलले माटो बिग्रको छ, रुखो भएको छ । गोबर मलले राम्रो उत्पादन हुने बनाउन धेरै मेहनत गर्नुपर्यो।’ अहिले बारीमा काक्रोमा फल ठूलो हुन नपाउँदै बजारबाट माग आइहाल्छ ।
विषादी प्रयोग नगरेको, गोबर मलमा चिसो ठाउँमा उत्पादन भएको तरकारीको बजारबाट माग धेरै आउने विमलले बताए । ‘तरकारी डोकोमा बोक्नु पर्दैन, गाडीले लगिहाल्छ,’ उनले भने, ‘पैसा उठाउन धाउनु पर्दैन, बैंक खाता र वालेटमा आइहाल्छ । आफ्नो माटोमा दुःख गर्दै, विदेश त घुम्न जाउँला ।’
परिवारसित बसेर माटोमा खेलेरै विदेशको जस्तै कमाइने उनले बताए । ‘यो सिजनमा टनेल र बाहिर काक्रो, सिमि, घिरौलो, गोलभेडालगायत तरकारी छन्,’ उनले भने, ‘वार्षिक ३० देखि ३५ लाख रुपैयाँको कारोबार गर्न हाम्रो लक्ष्य छ ।’ सँगै पढेका साथी गाउँमा बसेर भविष्य बिग्रने भन्दै सहर र विदेशमुखी भएका बेला आफुहरूले गाउँमै कृषि उद्यमबाट भविष्य बदल्ने अठोट गरेको उनीहरू बताउँछन् ।
कुन बेला के तरकारी फलाएपछि बजारमा राम्रो भाउ र सजिलै बिक्छ भन्ने आँकलन गरेर उत्पादन गरे धेरै जग्गा पनि नचाहिने उनीहरूको तर्क छ । हिउँदमा भन्दा बर्खे तरकारी महंगोमा बिक्री हुन्छ । बर्खामा सन्धिखर्क बजार मात्रै नभएर तराइमा समेत निर्यात हुन्छ । यातायातको सुविधा भए जे उत्पादन गरे पनि सहजै बिक्री हुने भएकाले खेती गर्न उत्साह मिलेको उनीहरू बताउँछन् ।
