नेपालमा ३ सय ५५ बाघ, ३ सय ९७ हिउँचितुवा र १ सय ५० देखि दुई सयको संख्यामा मलाहा बिरालो
लुम्बिनी — मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा बीएस्सी तेस्रो वर्षमा अध्यनरत ऐनबहादुर बुढा क्यामरा ट्रयापिङबारे प्राविधिक ज्ञान पाएपछि खुसी छन् । तिलागुफा नगरपालिका–१ कालीकोटका २१ वर्षीय उनले अब कर्णालीका बुकीपाटन र वनजंगलमा बिरालो प्रजातिका वन्यजन्तुको अध्ययन गर्न सक्षम भएको बताए ।
उनीजस्तै वन विज्ञान अध्ययन संस्थान पोखरामा बीएस्सी फरेस्ट्री तेस्रो वर्षमा अध्ययनरत याङजोम तामाङले वन्यजन्तुको अनुमानित संख्या पत्ता लगाउन क्यामरा ट्रयापिङ कसरी गर्ने भन्ने जानकारी पाएर खुसी बनिन् । मुगुम कार्मारोङ गाउँपालिका–२, मुगुकी २३ वर्षे उनले अब उच्च हिमाली भेगमा पाइने बिरालो प्रजातिका वन्यजन्तुको अध्ययनरत र संरक्षणमा लाग्न उत्प्रेरित भएको बताइन् ।
बिरालो प्रजातिका वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षणबारे ज्ञान दिन प्राकृतिक विज्ञानका उच्च शिक्षा अध्यनरत युवा विद्यार्थीलाई तालिम दिइएको हो । उनीहरूको सीप र दक्षता अभिवृद्धि गरेपछि संरक्षण क्षेत्रमा लाग्न उत्प्रेरित भएका छन् । आफ्नो रुचि र विषयसँग मिल्ने तालिम हुँदा अब यसैमा भविष्य खोज्न लागि पर्ने उनीहरूले बताए ।
संरक्षण क्षेत्रमा लाग्दा नाम र दामसँगै मुलुकलाई विश्वमै चिनाउन सक्ने अवसर पाइने हुँदा त्यसलाई सदुपयोग गर्न आफूहरू पछि नहट्ने उनीहरूले बताए । पछिल्लो समय संरक्षणका क्षेत्रमा लाग्न युवा विद्यार्थीको आकर्षण बढेको छ । उच्च शिक्षा अध्यन गर्दागर्दै संरक्षणमा लागेका धेरै छन् । तराईदेखि उच्च हिमाली भाग र आफ्नो रुचि भएको चरादेखि वन्यजन्तुमा काम गर्न धेरै विकल्प हुँदा विद्यार्थी उत्साहित हुँदै लाग्ने गरेका हुन् ।
यही आकर्षणकै कारण तीनदिने तालिममा छनोट हुन ६० बढी विद्यार्थीले आवेदन दिएका थिए । छनोटमा परेका वन विज्ञान, प्राणीशास्त्र र वातावरण शास्त्रमा स्नातक अध्ययनरत मुगुदेखि संखुवासभासम्मका १४ जिल्लाका १४ जना युवा विद्यार्थी र ४ जना स्थानीय ‘सिटिजन साइन्टिस्ट’लाई वाइल्ड केयर नामक संस्थाले पूर्वी नवलपरासीको त्रिवेणीमा हालै तालिम दिएको हो ।
बिरालो प्रजातिका वन्यजन्तुको पहिचान, अध्ययन अनुसन्धान गर्ने विधि र प्रक्रियाबारे तालिममा जानकारी दिइएको थियो । बिरालो प्रजातिका वन्यजन्तुको महत्त्व, संरक्षण र चुनौती तथा समुदायमा कसरी सचेतना फैलाउने भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो । अनुसन्धान गर्ने विधि रेडियो कलर जडान र क्यामरा ट्रयापिङबारे सैद्धान्तिक ज्ञान दिइएको थियो । सहभागीलाई बाल्मीकि आश्रम वन क्षेत्रमा क्यामरा ट्रयापिङ कसरी र कुन अवस्थामा गर्ने भनेर व्यावहारिक ज्ञान पनि दिइएको थियो ।
वन विज्ञान अध्ययन संस्थान पोखरामा बीएस्सी फरेस्ट्री पहिलो वर्षमा अध्यनरत १९ वर्षीय विनिताकुमारी शाहीले आफूलाई बिरालो प्रजातिका वन्यजन्तुमा काम गर्ने बढी रुचि भएकाले यो तालिमबाट धेरै कुरा सिकेको बताइन् । हिमा गाउँपालिका–७ जुम्लाकी उनले विशेष गरी वन्यजन्तुमा रेडियो कलर कसरी लगाइन्छ र त्यसबाट तथ्यांक कसरी लिने भन्ने विषयमा पाएको जानकारीले यो क्षेत्रमा लाग्न अझै उत्साहित गरेको बताइन् ।
हेटौंडामा बीएस्सी चौथो सेमेस्टरमा अध्यनरत १९ वर्षीय कृष्णद्वीप डंगौरालाई चराका बारेमा थोरै जानकारी थियो । अहिले बिरालो प्रजातिका बारेमा जानकारी पाउँदा संरक्षण क्षेत्रमै लागिरहन थप ऊर्जा मिलेको उनले बताए । कैलालीको भजनी नगरपालिका–६ महादेउलीका उनले अब संरक्षण क्षेत्रमै लागेर करियर बनाउने बताए ।
बाघ स्वस्थ जंगलको सूचक हो । बाघ पाइने जंगल जैविक विविधताले भरिपूर्ण हुन्छ । बिरालो प्रजातिका वन्यजन्तुले वनको प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै पर्यापर्यटनमा सघाउँछन् । वनको संरक्षण र विस्तारमा बिरालो प्रजातिका वन्यजन्तुको भूमिका ठूलो हुन्छ । वनको पारिस्थितिक प्रणालीलाई संचालन गरिरहेका हुन्छन् ।
वनजंगलको संरक्षणबाट पर्यापर्यटनको विकास, वनजन्य पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी रोजगारीको सिर्जना र स्वदेशी बस्तुमा आत्मनिर्भरताका साथै वैदेशिक व्यापारमा वृद्धि हुन्छ । नेपाल आउने अधिकांश पर्यटक जंगल सफारी, पदयात्रा गरी वन्यजन्तु, चरा र प्राकृतिक मनोरम वातावरण अवलोकनमा केन्द्रित हुने हुँदा नेपालमा पर्यटन विकासमा ठूलो मद्दत पुगिरहेको छ ।
नेपालमा बिरालो प्रजातिका १३ वन्यजन्तु पाइन्छन् । त्यसमा पाटेबाघ, हिउँचितुवा र चितुवा ठूलो बिरालो प्रजातिमा पर्छन् । ध्वासे चितुवा, फ्याकु बिरालो, तासी बिरालो, सुनौलो बिरालो र मलाहा बिरालो सानो बिरालो प्रजातिमा पर्छन् । त्यस्तै वन बिरालो, चरीबाघ, एसियाली जंगली बिरालो, छिरबिरे बिरालो र खियाथोप्ले बिरालो पनि साना बिरालो प्रजातिमा पर्छन् ।
सहभागीलाई बाघ तथा वन्यजन्तु विशेषज्ञ डा. बाबुराम लामिछाने, मलाहा बिरालो विशेषज्ञ डा. रमा मिश्र र हिउँचितुवा विशेषज्ञ तथा विश्व चर्चित रोलेक्स अवार्ड विजेता रिन्जिन फुन्जोक लामा र दीपा राईले ज्ञान, नयाँ प्रविधि र सीपबारे जानकारी दिएका थिए । नेपालमा ३ सय ५५ बाघ, ३ सय ९७ हिउँचितुवा र १ सय ५० देखि दुई सयको संख्यामा मलाहा बिरालो रहेका छन् । अन्य जंगली बिरालोका प्रजातिका संख्याबारे धेरै अध्ययन अनुसन्धान हुन सकेको छैन ।
