३६ लाख विदेशी विनिमय अपचलन आरोपमा ४ जनाविरुद्ध अर्को मुद्दा
बुटवल — डेढ करोड रुपैयाँ बढी कर छली आरोपमा सोही बराबरको बिगोसहित बुटवलका एक व्यवसायीलाई ३ करोड ११ लाख ३२ हजार ५ सय रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दर्ता भएको छ ।
आन्तरिक राजस्व अनुसन्धान कार्यालय बुटवलले गरेको अनुसन्धानपछि बुटवल उपमहानगरपालिका–६ राधाकृष्ण पथस्थित भान्जा स्टोर्स एन्ड हाउसका सञ्चालक बरकत अली मियाँविरुद्ध बिहीबार बुटवलस्थित उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दर्ता भएको हो । त्यस्तै, अवैध विदेशी मुद्रा अपचलन गर्ने कपिलवस्तुका ४ जनाविरुद्ध ३६ लाख जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भान्जा स्टोर्सका अलिले फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गरी मौज्दात किताबमा प्रविष्टी नगरेको, बिजक नै जारी नगरी बिक्री गरेको, पेस गरेको मूल्य अभिवृद्धि कर विवरणभन्दा अधिक मौज्दात पसल तथा गोदामबाट फेला परेको उल्लेख छ । कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर नबुझाई राजस्व चुहावट गर्ने गरेको आरोप उनीमाथि छ ।
‘अलीले राजश्व चुहावट ऐन २०५२ को दफा ४ (छ) र (झ) बमोजिम राजश्व चुहावटको कसुर गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा २ (छ) १ बमोजिम
भन्सार चोरी पैठारीतर्फको ७५ लाख ९३ हजार ५ सय ५७ रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फको २३ लाख २७ हजार ४ सय ५९ र आयकरतर्फको ५६ लाख ४५ हजार २ सय ६५ गरी जम्मा १ करोड ५५ लाख ६६ हजार २ सय ८१ बिगो ठहर्ने विज्ञप्तिमा उल्लेख छ ।
आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख राजस्व अधिकृत विवेक घिमिरेले मागदाबीसहित मियाँविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट गरेको प्रमाणका आधारमा मुद्दा दायर गरिएको बताए ।
त्यस्तै, कार्यालयले विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा कपिलवस्तुका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रमुख घिमिरेका अनुसार अनुसन्धानबाट देखिएको तथ्य र प्रमाणबाट प्रतिवादीहरु कपिलवस्तु शुद्धोधन गाउँपालिका–६, बिमिहाका ३५ वर्षका राजेशकुमार बर्मा, २६ वर्षका राकेशकुमार बर्मा, ५६ वर्षका जंगबहादुर बर्मा (सोनार) र मायादेवी गाउँपालिका–१ इमिलिया कपिलवस्तुका २८ वर्षका हमिद मुसलमानविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनीहरुबाट भारतीय मुद्रा ५ सय दरका भारतीय नोट ४ हजार २ सय ३६ थानको नेपाली रकम २१ लाख १८ हजार र २ सय दरका १ सय थानको २० हजार २१ लाख ३८ हजार भारतीय मुद्रा बरामद भएको थियो । उनीहरुविरुद्ध ३४ लाख २४ हजार ७ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको घिमिरेले बताए । ‘उनीहरुसँगै विदेशी मुद्रासहित नियन्त्रणमा लिएको यूपी ५५ एम ०४५९ नम्बरको भारतीय गाडी विनिमय अपचलनको कसुरमा प्रयोग भएको हुँदा जफतको मागदाबी गरेका छौं,’ उनले भने, ‘विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा कपिलवस्तु जिल्ला अदालतमा दायर भएको छ ।’
