प्रसारणलाइनको विरोधमा बानियाभारका स्थानीय आन्दोलित

वैशाख २५, २०८२

रुपा गहतराज

Locals of Baniabhar protested against the transmission line

नेपालगन्ज — नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारणलाइनको विरोधमा बाँकेको बैजनाथ गाउँपालिका-४ बानियाभारका स्थानीय आन्दोलित भएका छन् ।

बस्तीमाथिबाट प्रसारणलाइन निर्माण गर्दा सयभन्दा बढी स्थानीय घरबारविहीन हुने भन्दै अन्य मार्ग प्रयोग गर्न मागसहित स्थानीयले नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बिहीबार बिहान ११ बजेदेखि बानियाभार पानीट्यांकी नजिक सडक अवरुद्ध पारे । उनीहरुले सोही क्षेत्रमा प्रसारणलाइन निर्माण गर्ने भए मुआब्जा दिएर स्थानीयलाई स्थानान्तरण गराउन सरकारसँग माग गरे

बस्तीमा तीन वटा टावर निर्माण हुने आयोजनाले जनाएको छ । केही दिनअघि बस्ती नजिकको जंगल क्षेत्रमा प्रहरीको सुरक्षा घेरामा कामको सुरुआत गरिएको थियो र त्यहाँ केही टावरहरुसमेत निर्माण भइसकेका छन् । अब बस्तीको नजिक टावर निर्माण गर्ने क्रममा रहेको छ । 

विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाका प्राविधिकका अनुसार बस्ती नजिक पर्ने सुर्खेत साइडतिरको जंगलमा केही दिनअघि मात्र सुरक्षाकर्मी परिचालन गरेर १७० वटा रुखहरु कटान गरी केही टावर निर्माण सकिएको छ । बाँके साइडतिरको बस्ती नजिक पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि टावर निर्माण भइसकेको छ । अब बस्तीभित्र पर्ने तीन वटा टावर मात्र निर्माण हुन बाँकी छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully