पाल्पाका पाँच गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त

वैशाख २५, २०८२

माधव अर्याल

Five rural villages of Palpa have fully institutionalized maternity services

पाल्पा — पाल्पाका पाँच गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएका छन् । अझै दुई नगरपालिका र तीन गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो पटक बुधबार रिब्दीकोट गाउँपालिकालाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले प्रमाणपत्र प्रदान गरे । साथै जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका भएको घोषणासहित प्रमाणपत्र प्रदान गरे ।

घोषणाका लागि गाउँपालिकाका आठवटै वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा पञ्चेबाजा बजाएर र्‍यालीसमेत निकालेका थिए । सचेतनामूलक र्‍याली सिलाङ्थोकदेखि हार्थोक हुँदै गाउँपालिकासम्म पुगेको थियो । 

सोही अवसरमा रिब्दीकोट गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणासहित प्रमाणपत्रसमेत प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, महिला स्वास्थ्य स्वयंसेविकालाईसमेत घोषणा कार्यक्रममा सम्मान गरिएको छ ।

रिब्दीकोट गाउँपालिकाको खस्यौली, फेक, पालुङमैनादी, कुसुमखोलामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा प्रदान गरिन्छ । एक वर्षको अवधिमा १ सय ९३ जनामध्ये १ सय ९२ जनाले प्रोटोकल अनुसार चार पटक गर्भजाँच गराएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए । सतप्रतिशत गर्भवती महिलाले दक्ष प्रसूतिकर्मीको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसूति गराएको तथ्यांक रहेको प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताए ।

विगत तीन वर्षदेखि कुनै पनि महिलाले घरमा, बाटोमा र साथै अन्य स्थानमा प्रसुति नगराएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । लुम्बिनी प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार अनुसूची ४ को दफा (५) को (ङ) संग सम्बन्धित पूर्ण संस्थागत सेवायुक्त स्थानीय तह घोषणा गर्न तोकेको मापदण्ड निर्देशिका अनसार प्रोटोकल पूरा गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । 

यसमा चार पटक गर्भजाँच कम्तीमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएका मध्ये ९५ प्रतिशत महिलाले दक्ष प्रसूतिकर्मीहरुको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसुति हुनुपर्ने, घरमा हुने प्रसूति शून्य हुनुपर्ने र प्रसूति पछि पनि ९० प्रतिशतले जाँच हुनुपर्ने उल्लेख छ ।

रिब्दीकोट गाउँपालिकासँगै पाल्पाका पाँचवटा गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको छ । यसअघि पहिलो पटक पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको थियो । त्यसपछि रम्भा, बगनासकाली र माथागढी गाउँपालिका घोषणा भएका थिए । 

अझै तानसेन र रामपुर नगरपालिका साथै तिनाउ, रैनादेवी छहरा, निस्दी गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully