मुख्यमन्त्री आचार्य र स्विस राजदूतबीच भेटवार्ता

वैशाख २४, २०८२

दुर्गालाल केसी

Meeting between Chief Minister Acharya and Swiss Ambassador

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्यान्डका राजदूत ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरण र विकासका लागि स्विस सरकार तथा साझेदार संघसंस्थाबीच अझ सघन सहकार्य आवश्यक रहेको बताए । प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अझै साझेदारीको खाँचो रहेको धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

`यहाँहरूको तर्फबाट अहिलेसम्म स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा गरिएको योगदानको सरकारले उच्च मूल्यांकन गर्छ । आगामी दिनमा पनि यी क्षेत्रले प्राथमिकता पाउनेछन् भन्नेमा हामी विश्वस्त छौं,´ मुख्यमन्त्री आचार्यले भने,`लुम्बिनी प्रदेश द्वन्द्वको समयमा राज्य र विद्रोही दुवै पक्षबाट पीडामा परेको क्षेत्र हो । यस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम अघि बढाएकोमा म धन्यवाद व्यक्त गर्दछु ।´

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आत्मनिर्भरतातर्फ अघि बढिरहेको सन्दर्भमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकहरूको व्यवस्था र निरन्तरताका लागि सहयोगको प्रस्ताव पनि गरे ।

राजदूत मेउलीले स्विस सरकारले नेपालमा संघीय शासन व्यवस्थाको संस्थागत विकासका लागि प्रदेशको क्षमता विकासमा साझेदारी गर्दै आएको बताइन् । सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ साझेदारी जारी रहेको जानकारी दिँदै उनले आगामी दिनमा प्राविधिक शिक्षामा पहुँच बढाउँदै थप सहकार्य गर्न सकिने उल्लेख गरिन् ।

`प्राविधिक शिक्षा र बजारको तालमेल मिलाउन जरुरी छ । प्रदेश तहमा प्राविधिक शिक्षा ऐनको आवश्यकता महसुस गरिएको छ´ उनले भनिन्, `साना तथा मझौला व्यवसाय विकासका लागि पनि प्रदेश तहमा काम हुँदै आएको छ ।´

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully