गुल्मी — गुल्मीदरबार गाउँपालिकामा आधारभूत अस्पताल संचालनमा आएको छ । सरकारको ‘एक पालिका : एक आधारभूत अस्पताल’ अभियान अन्तर्गत नवनिर्मित १५ शैय्याको आधारभूत अस्पताल संचालनमा आएको हो ।
सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आधारभूत अस्पतालको औपचारिक उद्घाटन गरेका छन्।
अस्पताल एक एमबीबीएससहित १२ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेर संचालनमा ल्याएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए । गुल्मीदरबार आधारभूत अस्पताल जिल्लामै पहिलोपटक २ वर्षअघि सम्पन्न भएको थियो ।
संघीय सरकारको विशेष अनुदानमा निर्माण अस्पताल संचालन गर्ने जिम्मेवारी स्थानीय पालिकाको हो । २०७८ असार १५ मा बिकोई अर्जुन न्यूलिजा गुल्मीले निर्माणको जिम्मा पाएको थियो । २०८० असारमा पालिका अस्पतालको निर्माण सम्पन्न भएको थियो । पालिका अस्पताल भवन कुल १२ करोड ९४ लाख रुपैयाँमा निर्माण भएको हो ।
अस्पतालको मापदण्ड अनुसार ३ एमबिबिएससहित २८ स्वास्थ्यकर्मी र ४ जना कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी हो । स्थानीय पालिकाले मापदण्ड अनुसार दरबन्दी पदपुर्ति गरेर अस्पताल चलाउन सक्ने स्थिति नभएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
‘हालकै स्थितिमा अस्पताल चल्छ,’ उनले भने, ‘नयाँ कर्मचारी पदपुर्ति गरेर चलाउन पालिकाले सक्दैन् ।’ हाल अस्पतालमा एक एमबिबिएस डाक्टर नयाँ पदपुर्ति गरिएको हो । बाँकी स्वास्थ्यकर्मी भने अन्य स्थानीय स्वास्थ्य चौकीबाट अस्पतालमा ल्याइएको हो ।
अस्पतालमा लुम्बिनी प्रदेश सरकारबाट बेड, इसिजी मेसिन, अल्ट्रासाउण्ड मेसिन, अक्सिजन कन्सन्ट्रेटर मेसिन लगायतका आवश्यक उपकरणहरुको व्यवस्था भएको थियो । अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री कार्कीले आगामी नीति तथा कार्यक्रममा तयार भएका स्थानीय आधारभूत अस्पताल संचालन गर्नेगरी समावेश गर्ने बताए ।
‘छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका स्वास्थ्यकर्मीलाई कम्तीमा २ वर्ष पालिका आउने व्यवस्था बनाउनुपर्छ,’ उनले भने, ‘गाउँमै नागरिकले उपचार पाउने गरि अस्पताल संचालनमा ल्याउनैपर्छ ।’
