अर्घाखाँची — लेकाली थुम्कोमा पाणिनि दहलाई सौन्दर्यकरण गर्दा तीन वर्षदेखि पानी सुकेको छ । संस्कृत व्याकरणको उद्गम थलो पाणिनि ऋषिको तपस्यास्थलनजिकै रहेको दहमा पानी जम्मा भइरहन्थ्यो । पाणिनि गाउँपालिका– १ र २ को संगमस्थल पणेनास्थित तपोभूमिको दहमा जम्मा हुने पानीको स्रोत नभए पनि सुख्खा मौसममा पानी सुक्दैनथ्यो ।
स्थानीयका अनुसार दहलाई सौन्दर्यकरण गर्ने योजनाअनुसार पोखरीको बीचमा १ सय ८ फिट अग्लो आकर्षण शिवमूर्ति राख्ने र पूजा गर्नका लागि मूर्तिसम्म पुग्न पोखरीमाथि पुल बनाइयो । दहको एक छेउमा समानान्तर रूपमा रहेका दुई ठूला प्वाल थिए, जसलाई शिवजीका दुई आँखा भनि अर्थाइन्थ्यो । पोखरी र दुई प्वाललाई पनि ढलान गरेर वरपर सिमेन्टको बार लगाएपछि पानी सुकेको हो । बर्खामा पानी रहेपनि हिउँदमा सुख्खा नै भयो ।
लुम्बिनी प्रदेश सरकार र पाणिनि गाउँपालिकाको संयुक्त आयोजना यही चैत २७ र २८ गते सम्पन्न भएको ‘पाणिनि तपोभूमि सम्मेलनमा पोखरीमा बाहिरबाट पानी ल्याएर भरियो । पुरानो प्राकृतिक स्वरूप नै मासेर पोखरीको संरचनालाई डोजर लगाएर सिमेन्टको पोखरी बनाइए पनि पानी जम्मा नभएपछि फेरि माटो थुपारेर सम्मेलनमा देखाउन बाहिरबाट पानी ल्याएर खाली पोखरीमा पानी भरियो ।
‘सिमेन्टको पोखरीमा पनि पानी अडिएन, त्यसपछि पोखरीमा माटो थुपारेर पानी जम्मा गरेका छौं,’ पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले भने, ‘सम्मेलनमा भरिएको पनि जसरी हुन्छ पोखरीमा अडाउने प्रयास गर्छौं । यदि पानी सुक्यो भने अन्य विकल्प खोज्छौं ।’ पाणिनि ऋषिले संस्कृत व्याकरणको रचनास्थल नजिकैको पाणिनि दहलाई थप सौन्दर्यकरण गरेर बाह्रै महिना पानी देखिने बनाइने उनको दाबी छ ।
पहाडको टाकुरामा रहेको घना जंगलबीचको ठूलो चौरको बीचमा अवस्थित दहमा जम्मा हुने पानीको स्रोत नभए पनि सुख्खा मौसममा पनि पानी सुक्दैनथ्यो । पानी सुक्दा जंगली जनावर र चराचुरुङ्गीले समेत दहकै पानी खान्थे । गाउँलेले चैरमा भैसी र गाइबाख्रा चराउँदा यहीकै पानी खुवाउँथे । ‘यो दहमा अहिलेसम्म पानी सुकेको थिएन, जब पोखरीभित्र डोजर लगाएर सिमेन्ट लगाइयो, त्यसपछि पानी सुक्यो,’ स्थानीय थम्मन विकले भने, ‘जति चर्को गर्मीको बेला पनि दहमा पानी सधैँ रहन्थ्यो । गाईबाख्रा चराउन जाँदा पशुलाई पानी खुवाउथ्यौं, चराले पानी खान्थे ।’ प्राकृतिक स्वरूप मासेर नयाँ संरचना बनाउनु गलत भएको उनको तर्क छ ।
‘पाणिनि ऋषिले तपस्या गरेको तपोभूमिको प्रमुख सुन्दर ठाउँ पाणिनि दह हो,’ वडा २ का अध्यक्ष चन्द्रकान्त पौडेलले भने, ‘तपोभूमिको संरचना निर्मा अन्त्रगत दहलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्दा प्राकृतिक स्वरूप जस्तो कृतिम पोखरीमा पानी अडिएन । अब पुरानै बनाउन सकिँदैन, निर्माण भएको संरचनामा पानी दहमा भरिभराउ पानी राख्नु चुनौती बन्यो ।’
