गुल्मीदरबार आधारभूत अस्पताल सञ्चालनमा

वैशाख २२, २०८२

सन्तोष महतारा

Gulmidarbar Basic Hospital in operation

गुल्मी — गुल्मीदरबार गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ । सरकारको ‘एक पालिका : एक आधारभूत अस्पताल’ अभियानअन्तर्गत नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।

सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आधारभूत अस्पतालको औपचारिक उद्धाटन गरेका छन् । अस्पताल एक एमबीबीएस डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेर सञ्चालनमा ल्याएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले बताए ।

गुल्मीदरबार आधारभूत अस्पताल जिल्लामै पहिलोपटक २ वर्षअघि सम्पन्न भएको थियो । संघीय सरकारको विशेष अनुदानमा निर्माण अस्पताल सञ्चालन गर्ने जिम्मेवारी स्थानीय पालिकाको हो । 

२०७८ असार १५ मा बिकोई अर्जुन न्युलिजा गुल्मीले निर्माणको जिम्मा पाएको थियो । २०८० असारमा पालिका अस्पतालको निर्माण सम्पन्न भएको थियो । पालिका अस्पताल भवन कुल १२ करोड ९४ लाख रुपैयाँमा निर्माण भएको हो ।   

अस्पतालको मापदण्डअनुसार ३ एमबीबीएससहित २८ स्वास्थ्यकर्मी र ४ जना कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी हो । स्थानीय पालिकाले मापदण्ड अनुसार दरबन्दी पदपुर्ति गरेर अस्पताल चलाउन सक्ने स्थिति नभएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए । ‘हालकै स्थितिमा अस्पताल चल्छ,’ उनले भने, ‘नयाँ कर्मचारी पदपुर्ति गरेर चलाउन पालिकाले सक्दैन् ।’ हाल अस्पतालमा एक एमबिबिएस डाक्टर नयाँ पदपूर्ति गरिएको हो । बाँकी स्वास्थ्यकर्मी भने अन्य स्थानीय स्वास्थ्य चौकीबाट अस्पतालमा ल्याइएको हो ।

अस्पतालमा लुम्बिनी प्रदेश सरकारबाट बेड, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, अक्सिजन कन्सन्ट्रेटर मेसिन लगायतका आवश्यक उपकरणहरुको व्यवस्था भएको थियो ।

अस्पतालको नवनिर्मित भवन उद्धाटन गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी नीति तथा कार्यक्रममा तयार भएका स्थानीय आधारभूत अस्पताल सञ्चालन गर्नेगरी समावेश गर्ने बताए । ‘छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका स्वास्थ्यकर्मीलाई कम्तीमा २ वर्ष पालिका आउने व्यवस्था बनाउनुपर्छ,’ उनले भने, ‘गाउँमै नागरिकले उपचार पाउनेगरी अस्पताल सञ्चालनमा ल्याउनैपर्छ ।’

सन्तोष

Link copied successfully