एमाले–कांग्रेसको गठबन्धन २०८४ सम्मै जान्छ : महासचिव पोखरेल

वैशाख २१, २०८२

रुपा गहतराज

UML-Congress alliance will last till 2084: General Secretary Pokharel

नेपालगन्ज — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ सालसम्मै जारी रहने बताउँदै गठबन्धन भत्काउन खोज्नेहरु आफैं भत्किएर सकिने बताएका छन् ।

एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको शनिबारदेखि नेपालगन्जमा सुरु भएको सातौं केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्तर नेतृत्व गरिरहेको बताए ।

एमाले नेतृत्व गरेको सरकारकै पालामा मात्रै देशमा सबैभन्दा बढी विकास भएको उनले दाबी गरे ।

नेकपा (एमाले)ले अल्पसंख्यक मुस्लिम, मधेशी र पछाडि परेका अन्य वर्ग र समुदायको हक अधिकारका लागि सबैभन्दा बढी काम गरेको जनाउँदै महासचिव पोखरेलले मुस्लिम इत्तेहाद संगठनले मुस्लिम समुदायको अगुवाइ गरिरहेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले मुस्लिम समुदायलाई हरेक क्षेत्रमा अगाडि बढाउन विभिन्न काम गरिहेको जनाउँदै सरकारले जनतामा आशा र भरोसा उत्पन्न हुनेगरी काम गरिरहेको बताए ।

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पदमा अर्याल, प्रतिनिधिसभाका सदस्य, प्रदेशसभाका सदस्यलगायत नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय नेताहरूले धारणा राखेका थिए । महाधिवेशनमा ६ सय बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully