शिक्षकलाई खुँडा प्रहार गर्ने विद्यार्थी पक्राउ

वैशाख २१, २०८२

दुर्गालाल केसी

Student arrested for kicking teacher

दाङ — तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित हिमाल एकेडेमी स्कुलको प्रांगणमा  शिक्षकमाथि खुँडा प्रहार गरी फरार रहेका विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरका २१ वर्षीय सुरेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।

विकले शुक्रबार बिहान स्कुल प्रांगणमै हिमाल एकेडेमी स्कुलका कक्षा १२ का संयोजक शिक्षक ३७ वर्षीय विशेष श्रेष्ठलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुँडाले घाँटी, हात लगायत शरीरको विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएको उनले जानकारी दिए ।

विक १२ कक्षामा अध्ययनरत थिए । विकलाई तुलसीपुर उपमहानगरपालिका-४ हलवारस्थित सडकबाट शनिबार राति पक्राउ गरेको ठकुरीले बताए । 

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully