बर्दिया — प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ पुष्पनगरस्थित मानझुण्डी प्रतिक्षालयमा बसिरहेका बाँके खजुरा गाउँपालिका–६ का २३ वर्षीय प्रकाश धामीलाई २ सय ४० मिलीग्राम ब्राउनसुगर जस्तो पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले प्रहरीलाई देखेपछि उक्त पदार्थ निल्न खोजेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएर तत्काल बान्ता गर्न लगाउँदा एक थान पुरियामा उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी चक्र डम्बर पालले जनाए ।
यसैगरी सोही पालिका–८ साघुनघारीमा भारतबाट भे ३ प ९७१० नम्बरको मोटरसाइकल चढी आएका गुलरिया नगरपालिका–१ खैरापुरका २६ वर्षीय विष्णु चौधरीलाई शंका लागि जाँच गर्दा ५ ग्राम २ सय मिलीग्राम त्यस्तै प्रकृतिका लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
यस्तै भारतीय बजारबाट आउँदै गरेका बाँके खजुरा–२ का २६ वर्षीय गौरव विक र २३ वर्षीय सन्देश खत्रीलाई पनि ७ सय ८० मिलीग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई शंका लागि बढैयाताल–२ फुटाहा चेकपोष्टमा जाँच गरिएको थियो ।
पक्राउ परेका चारै जनालाई आइतवार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी पालले जनाए ।
