सिस्ने राउण्डको प्रवेशद्वारमा पदमार्ग निर्माण सुरु

वैशाख २०, २०८२

महेश केसी

Construction of the footpath at the entrance of Sisne Round has started

रुकुम पूर्व — पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण मानिएको सिस्ने गाउँपालिकामा पर्ने सिस्ने राउण्ड ट्रेलअन्तर्गत पुर्मुली पाटनबाट नौ दहसम्म पदमार्ग निर्माण सुरु भएको छ । १४ दिन लाग्ने अनुमान गरिएको यो राउण्डअन्तर्गत यस वर्ष करिब ५ किलोमिटर दूरीमा बाटो बनाउन लागिएको हो । 

नेपाल सरकार पर्यटन विभागको कुल ५० लाख रुपैयाँ अनुदान सहयोगमा पदमार्ग निर्माण अघि बढेको सिस्ने गाउँपालिकाका ईन्जिनियर कर्ण केसीले बताए । ‘सिस्ने–१ को सिस्ने ठाउँबाट ईरिबाङसम्म डोल्पातर्फ जाने बाटो पहिल्यैदेखि छ । त्यसभन्दा अघि नौदहसम्म जानका लागि बाटो नभएका कारण यो योजना अघि बढाइएको हो,’ उनले भने, ‘यही गतिमा आगामी वर्षमा पनि पदमार्ग निर्माण गर्दै गएमा सिस्ने राउण्डमा पर्यटकको आवागमन बढ्नेछ । यसले पर्यटनलाई व्यावसायिक रुपमा अघि बढाउन टेवा पुग्ने छ ।’

यस विषयमा सिस्ने राउण्डको नक्सा बनाएका पर्यटनकर्मी मनबहादुर खत्रीले सरकारले पदमार्ग निर्माण सुरु गर्नु खुसीको कुरा भएको बताए । ‘रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटबाट सुरु भएर सिस्ने गाउँ हुँदै पुर्मुली, नौदह, सिस्ने भञ्ज्याङ, देउती पाटन, बाटुली पाटनको बाटो भएर रुकुम पश्चिमको गोतामकोट पुगी थुम हुँदै गुप्ता दहसम्म पुग्ने सिस्ने राउण्डको रुट हो,’ उनले भने, ‘करिब १४ दिन लाग्ने यो रुटमा यस वर्ष नौदहसम्म बाटो बन्दै छ । यसप्रकार पूरा राउण्डभरि बाटो बन्न जरुरी छ ।’

Construction of the footpath at the entrance of Sisne Round has started

अहिले बनिरहेको बाटो भएर नौदहसम्म पुगेमा ५ हजार ९ सय ११ मिटर अग्लो सिस्ने हिमाल अवलोकन गर्न सकिने पनि खत्रीले बताए । सिस्ने राउण्डअन्तर्गत बाटो बनाउन पालिकाले सक्रियताका साथ काम गरिहरेको जनाउँदै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले यसअघि गाउँपालिकाले पर्यटन बोर्डसँग साझेदारी गरेर ५ वटा काठेपुल निर्माण सम्पन्न गरेको बताए । ‘यो राउण्डलाई पालिकाको मात्रै नभएर सिंगो लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय पदमार्गका रुपमा विकास गर्न लागि परेका छौं । यसमा सबैको सहयोग जरुरी छ,’ उनले भने । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully