पाल्पा — तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालनको तयारी गरेको छ । तानसेन नगरपालिका–३ स्थित पद्य पब्लिक माध्यमिक विद्यालयमा स्रोत केन्द्र स्थापना गर्न त्रिपक्षीय सम्झौता गरेको हो ।
त्यसका लागि तानसेन नगरपालिकाले डिजास्टर एजुकेसन प्रोमोसन अफिस र सिटिनेट प्लस आर्टस् सेन्टर फर क्रियटिभ पार्टनरसिप्स डिजाइन एन्ड क्रियटिभ सेन्टर कोबे, जापानबीच त्रिपक्षीय सम्झौता गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । सम्झौतामा नगरपालिकाको तर्फबाट श्रेष्ठ, प्रोमोसन अफिसकातर्फबाट अध्यक्ष दीपक मरहठ्ठा र क्रियटिभ सेन्टरका तर्फबाट कार्यकारी निर्देशक केन्द्र हिराटाले हस्ताक्षर गरेका छन् ।
स्रोत केन्द्र सञ्चालनका लागि तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन निर्देशिका तयार गरेको प्रमुख श्रेष्ठले बताए । स्रोत केन्द्रको लक्ष्य र उद्देश्य प्राप्तिका लागि तीनवटै पक्षले आवश्यकता अनुसार एक आपसमा समन्वय र सहकार्य गर्दै आ–आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्ने उनले बताए । हस्ताक्षर भएपछि स्रोत केन्द्र सञ्चालनको लागि तीनै पक्षको प्रतिनिधिहरूको उपस्थितिमा ३० दिनभित्र एउटा कार्य योजना बन्ने छ । कार्ययोजनामा उल्लेखित क्रियाकलापहरू तोकिएको समयावधि भित्र सम्पन्न गरिने तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिञ्जालीले बताइन् ।
सम्झौताका पक्षधरहरूले आ–आफ्नो तर्फबाट सम्पादन गर्नु पर्ने काम कर्तव्यहरु समेत उल्लेख गरिएको उनले बताइन् । स्रोत केन्द्रलाई चुस्त, चलायमान र गतिशील केन्द्रको रूपमा विकास गरिनेछ । प्राप्त सेवा, सल्लाह सुझाव र सहयोगलाई ग्रहण गर्ने साथै कार्यान्वयनको लागि स्रोत साधन र बजेटको प्रबन्ध मिलाइने उनले बताइन् । प्रभावकारी, प्रतिस्पर्धी एवम् सुविधायुक्त स्रोत केन्द्रको रूपमा विकास गर्न सकियो भने विपद्बाट जोखिन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।
स्रोत केन्द्र स्थापना भएको विद्यालयसँग सुमधुर सम्बन्ध राख्ने, स्रोत केन्द्र र विद्यालयसँग जोडिएका सबै साझा सवालहरूमा मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख भएको फोकल पर्सन तथा नगरपालिकाका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेलले बताए । स्रोत केन्द्रको लागि आवश्यक पर्ने प्रशिक्षण सामाग्री, खेल तथा अभ्यास सामाग्री एवम् प्रदर्शनयोग्य सामाग्रीको परिकल्पना गर्ने, डिजाइन गर्ने, खाका बनाइने उनले बताए । लगायत प्रकाशन छपाइ वा निर्माण गर्नु पूर्वका सबै कामहरूको प्राविधिक परामर्श उपलब्ध गराउनेछ । स्रोत केन्द्रको स्थापना भएको विद्यालयको भौगोलिक अवस्थिति, कक्षाकोठाको स्थिति एवम् स्थानीय परिवेशको आकलन गरिने उनले बताए ।
पहिलो चरणमा हुने प्रशिक्षक प्रशिक्षण तालिममा मुख्य सहजकर्ताको जिम्मेवारी लिने साथै स्रोत केन्द्रको फोकल पर्सन शिक्षक, कर्मचारी तथा स्वयंसेवकलाई विशेष प्रशिक्षण तथा अभ्यास गराइनेछ । विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रियस्तरका नेपाल भित्र र बाहिर रहेका सहयोगी निकायसँग सम्बन्ध विस्तार गर्ने साथै, स्रोत साधन जुटाउन डिजास्टर एजुकेसनल र सिटीनेटले पहल गर्नेछ । स्रोत केन्द्रले सम्पादन गर्ने सफल अभ्यासलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रचार प्रसार गर्न र स्रोत केन्द्रसँग प्रत्यक्ष संलग्न जनशक्ति तथा पदाधिकारीहरुको क्षमता विकासमा आवश्यक सहयोग गर्नेछ । स्रोत केन्द्र सुरु नहुँदासम्म तानसेन नगरपालिकाको समन्वयमा विशेष जिम्मेवारी लिएर काम गर्नुपर्ने सुझाव पत्रकार महासंघका पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाको छ ।
