परासी — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासको विनयी खोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि सवारी आवागमन प्रभावित भएको छ ।
डाइभर्सन माथिसम्म बाढी आएपछि यात्रवाहक र साना सवारीलाई वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिएको र मालवाहक सवारीलाई रोकीएको प्रहरीले जनाएको छ ।
यात्रुवाहक तथा साना हलुका सवारीसाधनलाई होङ्सी गेट हुँदै गन्तव्यतर्फ पठाइएको छ । मालवहाक ठूला सवारीसाधनहरूलाई होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयलका प्रहरी निरीक्षक जनक बन्जराले बताए ।
डाइभर्सन मर्मतको काम भइरहेको छ । पुस २६ गते अत्यधिक भार भएको सवारीले ठक्कर दिँदा विनयी खोलाको पुलमा क्षति पुगेपछि डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ ।
