नेपालगन्ज — जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक स्थलमा गोली पड्काइ आतंक मच्चाउने चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्ज–१ का ४० वर्षीय विश्व विजय पोख्रेल, नेपालगन्ज–१८ का ३० वर्षीय विशाल आउजी, नेपालगन्ज–४ का २१ वर्षीय अस्मित मल्ल र २० वर्षीय सौगात श्रेष्ठ छन् ।
उनीहरूले गत शुक्रबार नेपालगन्ज–१२ मा रहेको नमस्ते दोहरीबाट बाहिर निस्की साथमा बोकेको पेस्तोलबाट गोली पड्काइ बा ४ च ३०७१ नम्बरको कारमा चढेर नेपालगन्ज–१८ विशालनगर चोकमा भइरहेको नाइट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरूलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट पुनः गोली पड्काइ भागेको प्रहरी प्रवक्ता डीएसपी पातलीले बताए ।
उनले घटना भए लगत्तै पिछा गर्दै गएको प्रहरी टोलीले कोहलपुर १० हाइस्कुलबाट ती चार जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
