दाङ — राजपुर गाउँपालिका–२ मटेरियाकी ५९ वर्षीया कलावती चौधरी ढकिया गुरुका रुपमा परिचित छिन् । गाउँपालिकामा उनी मात्रै ढकिया बुन्न सिकाउने एक्ली प्रशिक्षक हुन् । उनलाई अन्य जिल्लामा समेत तालिम दिन भ्याइनभ्याइ छ । थारु समुदायमा रहेको परम्परागत ढकिया बुन्ने सीपलाई उनले व्यावसायिक रुप दिएकी छिन् ।
विभिन्न डिजाइनका ढकिया बनाएर उनी आफैंले पनि बिक्री गर्छिन् । अरुलाई पनि सिकाउँछिन् । उनले २०७२ मा दुई चरणमा गरी एक महिनाको ढकिया बुन्ने तालिम लिएकी थिइन् । त्यसपछि उनले ढकिया बुनेर बिक्री गर्न थालिन् । उनका ढकिया काठमाडौंलगायत देशका विभिन्न सहरमा पुग्छन् । उनको घरमा नियमित ९ जना महिला मिलेर ढकिया बुन्छन् र बिक्री गर्छन् ।
उनले दुई वर्षअघि लालीगुराँस हस्तकला उद्योग दर्ता गरेकी छिन् । मेला, महोत्सवमा पनि उनका ढकिया बिक्री हुन्छन् । कतिपय अर्डर आउँछन् र त्यहीँ अनुसार उनी बुन्छिन् । उनी पाँच वर्षदेखि प्रशिक्षणमा व्यस्त छिन् । उनले १५ देखि ४५ दिनसम्मका तालिम दिएकी छिन् ।
हालसम्म १५ वटा तालिममा १ सय ५० जनालाई ढकिया बुन्न सिकाएको उनले बताइन् । ‘सिकेका धेरैजसोले बुनेर बिक्री गर्छन् । उद्यमी भैरहेका छन्,’ उनले भनिन्,‘यो हाम्रो परम्परागत सिप हो । यसमा व्यवसायीकता थपेका छौं ।’
उनी नयाँ नयाँ डिजाइनहरु युट्युबमा खोज्दै सिकेर बुन्छिन् । उनी ढकियाका साथै हटकेस, खुत्रुके, पेन होल्डर, क्याप, गमला, पूजा दानी र डेल्वा पनि बुन्छिन् र सिकाउँछिन् । उनी आफूले बुनेका सामानबाट मासिक २० हजार रुपैयाँ कमाउँछिन् । तालिमबाट महिनाको ३० हजार रुपैयाँसम्म कमाउँछिन् ।
उनी हालै क्रियटिङ पोसिबिलिटिज नेपाल र राजपुर गाउाँपालिकाबाट २५ हजार रुपैयाँ नगदसहित उत्कृष्ट प्रशिक्षकका रुपमा पुरस्कृत भएकी छिन् । उनले तयार पारेको एउटा ढकिया १० हजार रुपैयाँसम्म बिक्री हुन्छ । उनको साथमा १ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्मका सामान छन् । ‘सजावट गरेका ढकियालाई धेरै मूल्य पर्छ,’ उनले भनिन्,‘विवाह, उत्सव जस्ता कार्यक्रममा सजाएका ढकिया प्रयोग हुन्छन् । अन्य सामानको प्रयोग पनि बढ्दै गएको छ ।’
विभिन्न जिल्लाबाट माग आउने गरेको र सोही अनुसार बुन्ने गरेको उनले बताइन् । ढकियालगायतका सामान बुन्न मुन्ज, पुन्जा, मयुरको प्वाँख, सुतही, मुगा र फूला आवश्यक पर्छ । यसमध्ये केही कच्चा पदार्थ स्थानीय स्तरमै पाइन्छन् भने केही बाहिरबाट किन्नुपर्छ ।
थारु समुदायका हरेक चाडपर्वमा ढकिया प्रयोग हुन्छ । प्रायः परम्परागत तरिकाले आफ्नो प्रयोगका लागि मात्रै ढकिया बुन्ने थारु महिला अहिले तालिम लिने र आधुनिक डिजाइनका बुन्न थालेका छन् । यसबाट थारु समुदायमा रहेको सीपको व्यवसायीकरण भइरहेको उनी बताउँछिन् ।
