अर्घाखाँची — पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगेबाट करिब ५८ किमीमा अवस्थित अर्घाखाँचीको नरपानी गर्मी छल्ने गन्तव्य बन्दै गएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिर नजिकै रहेको नरपानीमा शीतल खोज्दै तराई र भारतबाट दैनिक सयौंको संख्यामा पर्यटक भित्रिन्छन् । जहाँ नर्तनाञ्चल पर्वतमा चिसो हावापानी रहेको छ ।
बिहीबार चार जनाको परिवारसहित भारतको सिद्धानगरबाट पुरन महतो नरपानी आइपुगे । सुपा देउराली मन्दिरको दर्शनपछि नरपानी पिकनिक स्पोर्टमा प्रसाद ग्रहण गरे । दिनभर नाच्ने, गाउने, नर्तनाञ्चल पर्वतको जंगलमा विभिन्न तरिकाले फोटो र भिडियो खिचेर रमाए ।
नरपानीमै बास बसेर शुक्रबार उनी फर्किए । नरपानी क्षेत्रका विभिन्न ठाउँमा पैदल हिँडे । सुपा देउराली मन्दिरदेखि नरपानी क्षेत्रका पहाडको अवलोकन गर्दै तस्बिर र भिडियो पनि खिचे ।
‘आहा ! क्या सुन्दर पहाड रहेछ पहाड, साथीहरुलाई घुम्न जानुपर्ने ठाउँ रहेछ भन्छु र समय मिलाएर फेरि आउनेछु’ भन्दै उनी फर्किए । भारतमा गर्मीको बेला नरपानी चिसो ठाउँको खानाको स्वाद मिठो र डाँडोबाट चिसो हावामा रमाउँदा रमाइलो लागेको उनको प्रतिक्रिया छ ।
नेपाल–भारत सीमा कृष्णनगरबाट नरपानी नजिकै भएकाले पनि भारतीय नागरिक सुपा देउराली मन्दिर दर्शन गर्न र नरपानीमा गर्मी छल्न आउने पर्यटकको संख्या हरेक वर्ष बढेदो छ । नरपानी र सुपा देउराली क्षेत्रका होटल तथा रिसोर्ट गर्मीको बेला भारतीय पर्यटकले भरिन्छन् ।
रिसोर्टमा स्थानीय गहुँको सुख्खा रोटी, लोकल कुखुराको झोल, अचारसहित खसीको मासु मिश्रित नेपाली खाना मन पराउँछन् । डाँडाबाट हिमश्रृंखला हेर्दै पर्यटक रमाउने र लोकल खानाका परिकारमा बढी रुचि राख्ने गरेको नरपानी रिसोर्ट सञ्चालक पदम केसीको भनाइ छ । भारतीय पर्यटक नरपानीमै बास बस्ने गरी परिवार, साथीभाई मिलेरै गाडी रिजर्ब गरेर आउने गर्छन् । उनीहरु एक/दुई दिन यतै बस्छन् ।
नरपानी क्षेत्र भारतीय पर्यटकका लागि राम्रो गन्तव्यको रुपमा विकास हुँदै गएको उनले बताए । यसरी नरपानीमा आउनेको संख्या हरेक वर्ष बढ्दो रहेको छ । भारतबाट आएका बास बस्ने पर्यटकले नेपाली स्वादका खानाका परिकार मन पराउँछन् । यही पर्यटकलाई मध्यनजर गर्दै नरपानीदेखि करिब दुई किमी पोखेडाँडामा ४० वटा भन्दा बढी होमस्टे निर्माण भएका छन् ।
‘नरपानी क्षेत्रमा होटल बन्ने, खुल्नेक्रम पनि बढ्दो छ,’ सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महत्रा क्षेत्रीले भने, ‘अझै गाउँले पारिवारिक परिवेशमा बस्न, रमाउन खोज्ने पर्यटकको लागि होमस्टे खोलिएको छ । जहाँ होटल र रिसोर्टमा भन्दा धेरै सस्तो छ, लोकल खानाका परिकार खान पाइन्छ ।’ होमस्टेमा पनि भारतीय र तराई क्षेत्रका पर्यटकले फोन गरेरै रिर्जब गर्छन् ।
नरपानी र सुपादेउराली क्षेत्रमा आएका पर्यटकलाई सहज बसाइको व्यवस्थापन गर्दै स्थानीयलाई पर्यटनबाटै स्वरोजगारी गराउन पूर्वाधारका काम भैरहेको उनले बताए । नरपानीको पर्यटन प्रवर्द्धनबाटै स्थानीयको अवस्था बदल्ने गरी योजनाबद्ध रुपमा काम सञ्चालन गरिएको महत्राको भनाइ छ ।
लोकल कुखुरो, बोका र खसीको मासु, साग तरकारी, दूध लगायत खानाका परिकारले पर्यटकलाई थप लोभ्याएको छ । अर्को मोहित बनाउने दृश्य हो, यहाँबाट देखि हिमाल, हरियाली नर्तनाञ्चल पर्वत, खाँची लेक, सदरमुकाम सन्धिखर्कसहित पहाडी भेगका गाउँबस्ती हुन् । हिउँदको बेला तराई र भारतमा गर्मीको कारण सित्तल खोज्दै नरपानी पर्यटकको रोजाई हुने गरेको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
नगरपालिकाले गंगा सरोबर बनाएको छ । नरपानीको डाँडोमा हिन्दूधर्म अभियान्ता नारायण खनालको अगुवाइमा एकसय भन्दा बढी रैथाने गाई पालिएको छ । केही पर्यटक त्यहाँ पनि पुग्छन् । गाईको दूध, मोही, गहुँत खान पाइन्छ । ‘पर्यटकलाई डाँडा देखाउँदै घुमाएरै पर्यटन विकास भइरहेको छ,’ नरपानीका स्थानीय प्रितम केसीले भने, ‘धार्मिक गन्तव्य सुपा देउराली मन्दिर, चिसो नरपानी क्षेत्रमा पर्यटकलाई भुलाउन राज्यले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्छ ।’
यहाँ रात काट्ने पर्यटक बिहान उठेपछि हिम श्रृंखला अवलोकन गर्दै रमाउँछन् । हरियाली डाँडाको अवलोकन गर्छन् । अग्ला पहाड चुचुरोमा पुगेर फर्किने केसीले बताए ।
