पाल्पा — त्रिदेशीय पारवहन मार्ग कालीगण्डकी करिडोरअन्तर्गत् तल्लो र माथिल्लो खण्डमा चालु आर्थिक वर्षमा धमाधम काम भइरहेको छ। तर भुक्तानी गर्ने बजेट अभावले दुबै खण्डका योजना प्रमुख दबाबमा परेका छन्।
सडक विभाग अन्तर्गत उत्तरदक्षिण तथा व्यापारिक मार्ग बिस्तार आयोजना निर्देशनालय अन्तर्गत कालीगण्डकी करिडोर गैंडाकोट–कोरला नाकामा काम गर्ने निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेपछि योजना प्रमुख तालुक अड्डा भौतिक योजना तथा यातायात मन्त्रालय धाउनु परेको हो ।
राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभावले निर्माण व्यवसायीलाई काम गरेको बिल भुक्तानी दिन नसकेपछि बजेट माग गर्न विभाग र मन्त्रालय धाउनु परेको कालाीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) योजना प्रमुख कल्पना अधिकारीले बताइन् । भुक्तानी माग्दै जिल्लास्थित कार्यालय धाएका निर्माण व्यवसायीले काम नगर्नेसम्मको चेतावनी दिन थालेपछि बजेट माग गर्न काठमाडौंमै बस्न बाध्य बनाएको उनले बताइन् ।
‘चालु आर्थिक वर्षका लागि विनियोजित रकम गत आर्थिक वर्षको भुक्तानी दिँदैमा सकिएको छ,’ उनले भनिन्, ‘चालु आर्थिक वर्षमा भुक्तानीको दायित्व ६० करोड भइसकेको छ ।’ कालीगण्डकी करिडोर अन्तर्गत गैंडाकोट–राम्दी–मालढुंगा सडकका लागि चालु आर्थिक वर्षमा १ अर्ब २७ करोड विनियोजन भएको थियो ।
गत वर्षकै ५३ करोड दायित्व रहेकाले यसवर्ष बजेट छिट्टै सकिएको उनले बताइन् । व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्दा ठेक्का भएको खण्डमा पनि छिटो काम सक्न दबाब दिन नसकिएको आयोजना प्रमुख अधिकारीले बताइन् । यस वर्ष ६० करोडबाहेक थप १० करोडको बिल बन्ने देखिएको छ । करिडोर अन्तर्गत कालिका कन्सट्रक्सन प्रालिलाई मात्रै ५० करोड भुक्तानी गर्न बाँकी छ । थप बिल २० करोड बढीको बन्ने निश्चित छ ।
कालिकाले गुल्मीको हर्मिचौरदेखि बाग्लुङको बलेवासम्म ४४ किलोमिटर कालोपत्रको कामलाई तीव्रता दिएको छ । ५० करोड बराबरको भुक्तानी दिनका लागि बिल पेश गरिसकेको आयोजनाका सूचना अधिकारी अरुण खत्रीले बताए । ‘ठेक्काको म्याद भन्दा ६ महिनाअघि नै काम सकेर हस्तान्तरणको तयारी गरेको छ,’ उनले भने, ‘तर भुक्तानी दिने बजेट छैन । एक साताभित्रै थप बिल पेश गर्दा ५५ करोड तत्काल दिनुपर्ने हुन्छ ।’
उधारोमा काम धेरै भइसकेकाले बिल भुक्तानी नहुने हो भने कालोपत्रको काम नै रोक्नुपर्ने अवस्था आउने कालिका कन्सट्रक्सनका कन्ट्रयाक्ट मेनेजर महेश सुवेदीले बताए । उनका अनुसार गत वर्ष पनि ५३ करोड उधारोमा काम गरेर यसवर्ष भुक्तानी पाएका थिए । ‘बिटुमिन र डिजेल दुबै बस्तु उधारोमा पाइदैन,’ उनले भने, ‘त्यसैले भुक्तानी नपाउने हो भने काम नै ठप्प गराउनु पर्ने हुन्छ ।’
कालिकाको म्याद २०८२ मंसिर २५ सम्म भए पनि जेठ नै काम सक्ने योजना बनाएको छ । ३ अर्ब ३३ करोडको ठेक्का सम्झौता गरेको कालिकाले भौतिक प्रगति ८५ प्रतिशत गरिसकेको आयोजनाका सूचना अधिकारी खत्रीले बताए । मालढुंगा–जोमसोम–कोरला सडक योजना अन्तर्गत चालु आर्थिक वर्षमा ६२ करोड बजेट थियो । योजनाका सूचना अधिकारी विष्णु चापागाईका अनुसार बजेट सकिएर पनि भुक्तानी दिनुपर्ने कम्तीमा २० करोड रहेको छ ।
‘केही पुलका साथै मालढुंगादेखि बेनीसम्मका सडकको भुक्तानी बढी छ,’ उनले भने, ‘मालढुंगादेखि बेनी सडकको मात्र ५ करोड भुक्तानी दिनुपर्ने छ । तर बजेट एक पैसा पनि छैन ।’ मालढुंगादेखि बेनी १३ किलोमिटर कालोपत्र भइरहेको छ । मुस्ताङको मार्फा र छुसाङको मोटरेबल पुल, म्याग्दीको बेनी बजार, गलेश्वर, तातोपानी, जोमसोम खण्डमा भइरहेको कामको पनि भुक्तानी दिनुपर्ने छ भने थप बिल आउनै बाँकी रहेको उनले बताए ।
माथिल्लो खण्डको जोमसोमदेखि कोरला खण्डको कागबेनीसम्म कालोपत्र भइसकेको छ । ५० किलोमिटरका लागि बजेट सुनिश्चितताका लागि पेश गर्दासमेत सहमति पाएको छैन । अहिले १० किलोमिटर कागबेनी–छुसाङ्सम्मको ठेक्का निस्केको छ ।
करिडोर अन्तर्गत गैडाकोट–राम्दी–मालढुंगा योजना अन्तर्गत राम्दी–रानीमहल १७ किलोमिटर सडकको यसैवर्ष ठेक्काको काम सुरु भएको छ । झण्डै ८५ करोडको ठेक्कामा १५ करोड भुक्तानी दिइसकेको छ भने ५ करोड भुक्तानी दिन बाँकी रहेको सूचना अधिकारी खत्रीले बताए । ‘बजेट अभाव भएको छ भनिएकाले निर्माण व्यवसायीले बिल पेश गरेको छैन,’ उनले भने, ‘अहिले काम गर्ने समय हो तर काम पूर्ण रुपमा गराउन सकिने अवस्था छैन। मुख्य समस्या भनेकै बजेट अभाव हो ।’
गैंडाकोट–पिपलडाँडा खण्डमा ५ वटा मोटरेबल पुलका निर्माण व्यवसायीले सार्वजनिक खरिद ऐन १४ औं संशोधन कुरेर बसेका छन् । म्याद थप नभएकाले बिलसमेत पेश गरेका छैनन् । ती पुलकोसमेत बिल पेश हुँदा थप ५ करोड आवश्यक पर्ने योजना कार्यालयले जनाएको छ । करिडोर अन्तर्गतकै पर्वत खण्डमा पनि झण्डै ५ करोड भुक्तानी दिनुपर्ने अवस्था छ ।
कालीगण्डकी करिडोर योजनालाई दुई खण्डमा विभाजन गरेर काम गरिएको छ । नवलपरासीको गैंडाकोटदेखि पर्वतको मालढुंगा खण्डको निर्माण ०६६/६७ बाट थालिएको हो । यसको दूरी २ सय ४५ किमि छ । आयोजनाको दोस्रो खण्ड मालढुंगा–बेनी–जोमसोम–कोरला हो । ०७३/७४ बाट मालढुंगादेखि मुस्ताङको कोरलासम्मको सडक निर्माण सुरु भएको हो । यसको दूरी २ सय २ किमि छ ।
भारत र चीन जोड्ने आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्वको त्रिदेशीय पारबहन मार्ग हो । पूर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पाको राम्दी, गुल्मीको रिडी अर्वेनी पुर्तिघाट हुँदै बागलुङको जैमिनी, वलेवा, मालढुंगा म्याग्दीको वेनी, मुस्ताङको जोमसोम, लोमान्थाङ् हुँदै कोरला नाकासम्म छ ।
