भूकम्पपछि मासिन थाले परम्परागत कुँडुले घर 

वैशाख १२, २०८२

माधव अर्याल

After the earthquake, the traditional Kundule houses started to collapse

पाल्पा — २०७२ सालको विनाशकारी भूकम्पछि परम्परागत कुँडुले (गोलो) घर मासिन थालेको छ । जिल्लाका अधिकांश स्थानमा भूकम्पअघिसम्म त्यस्ता घर प्रशस्त थिए । अहिले भने त्यस्ता घर देखिनै छाडेका छन् । परम्परागत कुँडुले घर खुला चौर र पार्कमा लाखौं खर्चेर निर्माण गर्नुपरेको छ ।

मगर समुदायले अघिल्लो पुस्तासम्म कुँडुले घर बनाउने गर्थे । बढ्दो आधुनिकतासँगै नासिँदै गएका त्यस्ता घर भूकम्पमा भत्केपछि कसैले पनि पुनःनिर्माण नगर्दा लोप भएको निस्दी गाउँपालिका–२, सहलकोटका वडाध्यक्ष फत्तेसिंह दर्लामीले बताए । उनका अनुसार पछिल्लो २०७२ को भूकम्पले त्यस्ता घरलाई चर्काउने र भत्काउने गरेपछि पुनःनिर्माण गर्दा कसैले पनि बनाएनन् । ‘पुनःनिर्माण गर्दा भूकम्पीय मापदण्डअनुसारको बनाउनुपर्ने भयो,’ उनले भने, ‘त्यसैले पनि पुनःनिर्माण भएनन् ।’

पहिचान झल्काउने कुँडुले घर लोप भएपछि यहाँका बासिन्दा मगर परम्परा नै लोप भएको गुनासो गरेका छन् । भूकम्पले सहलकोटस्थित सुकेकोट गाउँका ५६ घरमा क्षति पुगेको थियो । भूकम्पले यहाँ रहेका अधिकांश कुँडुले घर पनि भत्काए । जिल्लामै एउटै गाउँमा सबैभन्दा धेरै घर भत्किएको सुकेकोटमै भएको यहाँका अगुवा तथा भूकम्प प्रभावित उमेश गाहाले बताए । त्यही भएर अहिले पनि बेलाबेला गइरहने र परकम्पले झस्किने गरेको उनको भनाइ छ । महिनौंसम्म सिंगो गाउँ विस्थापित भएर पुनः बस्तीमै फर्केकाहरुले परकम्प र भूकम्प गइरहँदा फेरि पुरानै अवस्थामा फर्किनुपर्ने हो कि भन्ने चिन्ताले सताउने गरेको सुकेकोटकी भूकम्प प्रभावित केशरी कुमारी रानाले बताइन् । 

‘भूकम्पले हाम्रो गाउँका सबै परम्परागत कुँडुले घरहरु लोप भए,’ उनले भनिन्, ‘अहिले कसैले पनि पुनःनिर्माण गर्दा कुँडुले घर बनाएका छैनन् । अब छोरानातिले कुँडुले घर देख्न पनि पाउने भएनन् ।’ उनका अनुसार सुकेकोटमा हेर्दाहेर्दै दुई-तीनतले घर, परम्परागत कुँडुले घरसहित सिंगो गाउँ नै भत्केको थियो । त्यही सम्झेर अहिले पनि मनमा चिसो पस्ने उनले बताइन् । 

'सबैजना चिच्याउँदै बारीतिर गएको, बारीमै त्रिपालमा महिनौं बसेको सम्झँदा पनि डर लाग्छ,' सुकेकोटकै भूकम्प प्रभावित खुमबहादुर रानाले भने, 'अझ बेलाबेला गइरहेका भूकम्प र त्यसका परकम्पले झन् बढी चिन्ता लाग्ने गरेको छ,’ उनले भने, ‘फेरि पुरानै अवस्थामा फर्किनुपर्ने हो कि भन्ने चिन्ता अनि डर लाग्छ ।’ 

भौगोलिक अवस्थाका कारण सहलकोटको सुकेकोटमा साना भूकम्पले पनि बढी हल्लाउने गर्छ । जसले गर्दा यस गाउँका बालबालिका, वृद्धवृद्धा, महिला बढी त्रसित हुने गरेको उनले बताए । सुकेकोट बस्तीको तल्लो भागमा झन्डै एक किलोमिटर क्षेत्रमा जमिन भासिएको थियो भने सिंगो बस्तीका सबै घर भत्किएका थिए । पुराना घरलाई पुनःनिर्माण गरी एकतले बनेको छ । भूकम्प प्रतिरोधी घर बनेको सुकेकोटकै भूकम्प प्रभावित भोकबहादुर रानाले बताए । ‘हामीलाई हाम्रा पुराना ठूलाठूला घर भत्केको चिन्ता हुने नै भयो,’ उनले भने, ‘अझ बढी चिन्ता कुँडुले घर प्रत्येकको जस्तै थियो । अहिले एउटा पनि देख्न पाइँदैन ।’ यहाँ सबैले एकतले घर बनाएका छन् । 

भूकम्पबाट विस्थापित भएर बस्तीमै पुनःस्थापित भए पनि पुनः गइरहने भूकम्प, परकम्पले गर्दा मनको डर हट्न सकेको छैन । पहाडको टुप्पोमा बस्ती भएकाले पनि यहाँका बासिन्दालाई थप त्रसित बनाउने गरेको हो । थातथलो छाडेर हिँड्न नसकेकाहरुलाई फेरि पहिलेको अवस्थामा पुगिने हो कि भन्ने चिन्ता पर्ने सहलकोटकी वडासदस्य तथा भूकम्प प्रभावित बोमा परियारले बताइन् । भूकम्पले पाल्पामा ४ हजार ६ सय ९४ जना निजी आवासमा क्षति पुगेको थियो । 

कस्तो हुन्छ कुँडुले घर ?
आधुनिकतासँगै कुँडुले घरहरुको संख्यामा कमी हुँदै गएको थियो । कुँडुले घरको महत्व भिन्नै छ । थोरै लगानीमा निर्माण गर्न सकिन्छ । कुँडुले घरमा कहिल्यै गर्मीको महसुस हुँदैन । परिवार एकै स्थानमा खाने, बस्ने, सुत्नुपर्ने भएकाले केही बेफाइदा पनि छन् । ३ लाखदेखि ५ लाखसम्म गाउँमा यस्ता घर निर्माण गर्न सकिन्छ ।After the earthquake, the traditional Kundule houses started to collapseखरले छाउने, गोलो घर हुने भएकाले चिटिक्क देखिन्छ । कुँडुले घर चिउरे ढुंगाको गोलो गारो लगाई बनाइएको कौसी सहितको घर हो । एउटा ढोका र बढीमा दुई झ्यालसम्मको एकतले घरमा केहीवर्ष अघिसम्म संयुक्त परिवार बस्ने गर्थे ।

यसमा ढुंगा र माटोको गारो लगाइन्छ । गोलाकारमा बन्ने घरको धुरी चुच्चो हुने र रातो माटोले लिपपोत गरी चिटिक्क पारिन्छ । यस्ता घर बलिया र हेर्नका लागि आकर्षक हुन्छन । एक तला मात्र हुने भएकाले भित्र आवश्यकताअनुसार कोठा विभाजन गर्न सकिने निस्दी गाउँपालिका–२, सहलकोटका नवलसिंह विरकट्टाले बताए । 

पछिल्ला पुस्ताले भने यस्ता घर मन पराउन छाडे । त्यसैले पुराना घर भत्किन थालेका स्थानीय बताउँछन् । पछिल्लो समयमा टिनले छाउने र सिमेन्टको ढलान गरेर बनाउन सुरु भएको छ । निस्दी गाउँपालिकामा कुँडुले घर १ सय २३ थिए । झिरुवासबाहेक जिल्लाका मगरबस्ती बाहुल कोलडाँडा, सिलुवा, मित्याल, अर्चले, ज्यामिरे, रहवास, बहादुरपुरमा पनि छन् । पालिकाले कुँडुले घर भएका स्थानमा होमस्टे सञ्चालन गर्न सके भने गाउँवासीलाई फाइदा हुने स्थानीय बताउँछन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully