कुवेतमा बन्धक बनाइएका बर्दियाका महिलाको उद्धार जारी

वैशाख १०, २०८२

कमल पन्थी

Rescue of Bardia women held hostage in Kuwait continues

बर्दिया — बढैयाताल गाउँपालिका–६ की ३६ वर्षीया रेखा विकको दुई वर्षअघि श्रीमान् लालबहादुर रेग्मीको मृत्यु भयो । तीन छोरी र एक छोरा भएकी रेखा सुकुम्बासी हुन् । श्रीमान्‌को मृत्युपछि आम्दानीको स्रोत नभएपछि गुलरियास्थित कपडा पसलमा काम गर्थिन् ।

त्यसैक्रममा मधुवन नगरपालिका–९ तारातालका एजेन्ट गोपाल परियारले विदेशमा राम्रो रोजगारी र आम्दानी पनि राम्रै हुने भनेर ललाइफकाइ गर्न थाले । कुवेत जान कुनै पैसा नलाग्ने, राहदानी बनाउन खर्च पनि नचाहिने भनेपछि तयार भएको उनले बताइन् । 

घर परिवारलाई थाहा नदिइ गत भदौमा उनी काठमाडौं गइन् । उनलाई एक साता प्रशिक्षण दिइ एजेन्टले भिजिट भिसामा कुवेत पुर्‍याए । उनीसँगै दर्जनभन्दा बढी महिला उनै एजेन्टमार्फत दिल्ली हुँदै दुबई पुगेका थिए । दुबईमा एउटा ठूलो हलमा नेपालसँगै श्रीलंका, भारत, बंगलादेशका ५० जना महिलालाई बन्धक बनाएर राखिएको थियो । नौ दिन राखेपछि उनीहरुलाई कुवेत पुर्‍याइयो । कुवेत पुर्‍याउनासाथ बन्धक बनाइएका महिलालाई कता लगे आफूलाई केही थाहा नभएको उनले बताइन् ।

'मलाई घरको कामकाज भनी त्यहाँ लगेपनि उद्देश्य फरक रहेको रहेछ । मलाई यौन धन्दामा लगाउन खोजियो,’ उनले भनिन्, ‘मैले विरोध गर्दा एक महिलाले तातो पानी खनाइन् । त्यही पनि मैले मानिनँ ।' विरोध गर्दा 'तँलाई हामीले ३ लाखमा किनिसकेको' भन्दै शारीरिक याताना दिएको उनले सुनाइन् । 'मेरो मोबाइल खोसिएकोले घर फोन गर्छु भनेपछि ती महिलाले दिइन्,' उनले भनिन्, 'मैले बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी अंकललाई फोन गरेर उद्धार गर्न भनेँ ।' अध्यक्ष त्रिपाठीले सीडिओ रुद्रादेवी शर्मालाई फोन गरेपछि अर्को दिन उद्धार भएको उनले बताइन् । 

उनीजस्तै बासगढी नगरपालिका–१ की उषा परियालाई राहदानीदेखि आउजाउ निःशुल्क र रोजगारी दिने प्रलोभन देखाएर कथित एजेन्टले कुवेत पुर्‍यायो । घरको कामकाजी महिलाका रुपमा काम गर्न भनी लगिएकी उनलाई दैलेखका दिनेश सुनार र राजकुमार सुनारले कुवेत पठाएका थिए । कुवेतमा बन्धक बनाएर शारीरिक यातना दिएको जानकारी परियारले घर परिवारलाई जानकारी दिएकी थिइन् । अभिभावकले स्थानीय प्रशासनमा उजुरी दिएपछि गत कात्तिक १५ गते उनको उद्धार भएको थियो । कुवेतमा बन्धक बनाएकी मधुवन नगरपालिका–८ की विष्णु महतारालाई वैशाख ४ गते उद्धार गरिएको छ । उनलाई घरयासी कामकाजका लागि कुवेत पठाइएको थियो ।

कुवेतमा आकर्षक रोजगारी दिने प्रलोभन देखाइ कथित एजेन्टबाट कुवेत पठाइएका ती महिलाले चरम यातना पाएका छन् । श्रम स्वीकृतिबिना खाडी मुलुक पठाइएकाहरुलाई कुटपिट गर्ने, यौन धन्दामा नलागे शारीरिक यातना दिने, पारिश्रमिक नदिने गरिएको पीडित महिलाले बताएका छन् । एजेन्टले विपिन्न परिवारका महिलालाई ललाइफकाइ विदेश लैजाने गरेका छन् । बर्दियाबाट दर्जनौं महिला कथित एजेन्टको प्रलोभनमा फसेर विदेशमा यातना भोगिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

उनीहरुको उद्धारका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । प्रशासनको पहलमा साउन महिनायता चार जना महिलाको उद्धार गरिएको छ । २५/३० जना वैदेशिक रोजगारमा गएकाको उद्धारको प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully