रोल्पाबाट पहिलोपटक एसएलसी उत्तीर्ण महिला बमकुमारी बुढामगरले गत वर्ष ७२ वर्षको उमेरमा एमए पास गरेपछि त्यो खबर जिल्लाभर फैलियो, त्यसपछि कैयौं निरक्षर आमाले आफ्ना छोरीलाई पढ्न प्रेरित गरे
रोल्पा — आफूले अक्षर चिन्न नसके पनि सन्तानलाई विद्यालय पठाउँदा कसलाई खुसी नलाग्ला ? अझै, छोरीहरूले माथिल्लो कक्षा उत्तीर्ण गर्दा आमालाई कति खुसी लाग्दो हो ? रोल्पाका निरक्षर आमाहरू छोरीलाई पढाउन पाउँदा निकै खुसी व्यक्त गर्छन् ।
रोल्पाबाट पहिलोपटक एसएलसी पास गर्ने महिला बमकुमारी बुढामगरले गत वर्ष ७२ वर्षको उमेरमा स्नातकोत्तर (एमए) पास गरेको खबर जिल्लाभर फैलियो । खासगरी आमाहरूले प्रतिक्रिया दिए– पढ्न उमेरले नछेक्ने रहेछ । यस्तै बमकुमारीलाई चिन्नेहरुले अझ फोन गरेरै बधाई दिए । राजनीतिमा पनि नाम कमाएकी बमकुमारीको पढाइमा सफलता र पढ्ने चाहको सबैतिर चर्चा पनि भयो । त्यो खबर थाहा पाएका कैयौं निरक्षर आमाले पनि आफ्ना छोरीलाई पढ्न प्रेरित र उत्साहित गरे ।
पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका जुगारकी गृहिणी हुन्, रूपा घर्तीमगर । सानैमा बिहेलगत्तै घरव्यवहार सम्हाल्नुपर्यो । पढ्ने उमेरमा बिहे भयो । आफ्ना तीन सन्तानलाई दुःखजिलो गरेर हुर्काउने र पढाउने काममा सफल भइन् । ‘मैले पढ्न पाइनँ । त्योबेला चाहेर पनि पढ्न पाइनँ । त्यस्तै भयो । तर अहिले मेरी छोरीले पढेको देख्दा रहर लाग्छ,’ ३९ वर्षीया रूपा भन्छिन्, ‘दुई छोरालाई पनि पढाएँ, सबैभन्दा पछिल्लो सन्तान छोरी हो । पढिरहेकी छन् ।’ रूपाकी छोरी लुमाले एसईई दिएकी छन् । लुमाका दुई दाइमध्ये जेठो विदेशमा अध्ययन गर्दै छन् भने कान्छो दाङमा १२ कक्षामा पढिरहेका छन् । तीन सन्तानलाई पढाउन रूपाले घाँसदाउरा, कुटोकोदालो र खेतीपाती गर्दै वर्षौं बिताइन् । सुरुमा श्रीमान्ले साथ दिए पनि पछिल्लोपटक परिवार त्यागेर विदेश भासिएपछि घरव्यहार चलाउन र छोराछोरी पढाउने खर्च जुटाउने जिम्मेवारी रूपामाथि नै आइपर्यो । त्यो जिम्मेवारी उनले नआत्तिएर निकै मेहनत गर्दै पूरा गर्दै आएकी हुन् ।
सानैमा आमा गुमाउनुपर्दा आफूमुनिका दुई भाइहरूले पनि चाहेजति विद्यालय पढ्न नपाएको दुखेसो रूपाको मनमा छ । भन्छिन्, ‘मैले त पढ्न पाइनँ । मेरा भाइहरुले पनि पढ्न पाएनन् । सामान्य साक्षर मात्रै भए । तैपनि उनीहरू अहिले वैदेशिक रोजगारीमा जाने र कमाउने भएका छन् ।’
सामान्य साक्षर रूपाले विद्यालय जाने मौका नै पाइनन् । गृहस्थी कामसँगै सुरुमा गाउँका पढेलेखेका दिदीबहिनी र पछि आफ्नै छोराछोरीबाट उनले अक्षर चिनिन् । उनी खुसी पोख्छिन्, ‘अक्षर चिनेपछि अहिले त पैसा चिन्न, चिठी पढ्न, हिसाबकिताब राख्न र मोबाइल पनि चलाउन सक्छु ।’ उनी सानै हुँदा आमाको मृत्यु भयो । उनीसहित साना भाइहरूलाई बुबाले नै हुर्काए । ‘बुबा साधारण स्वभावको हुनुहुन्छ । निकै दुःख गरेर हामीलाई हुर्काउनुभयो । यसैमा खुसी छौं,’ रूपा भन्छिन् । एसईईको नतिजा पर्खंदै आमालाई सघाइहेकी लुमा भन्छिन्, ‘हामीलाई पढाउने सम्पूर्ण जिम्मेवारी हाम्री आमाको छ । मलाई अझै माथिल्लो तहसम्म पढाउन चाहनुभएको छ । सबै दुःख सहेर आमाले हाम्रो खुसी देख्न चाहनुभएको छ । आमाको यो उत्साहले मलाई प्रेरणा मिलेको छ ।’
रोल्पा नगरपालिकाभित्र पर्ने एउटा दुर्गम गाउँ छ, जंकोट । बल्ल कच्ची सडक पुगेको जंकोटमा विद्यालय शिक्षाको सुधार पहिलो प्राथमिकतामा पर्छ । जंकोटकी १८ वर्षीया प्रमिला पुनमगरले हाल क्याम्पसमा अध्ययन गर्दै छिन् । कक्षा १२ उत्तीर्ण गरेपछि उनले सदरमुकामस्थित जलजला बहुमुखी क्याम्पसमा अध्ययन थालेकी हुन् । विद्यालय तह उत्तीर्ण गरेपछि उनकी आमा बिनकुमारी जीवनमै पहिलोपटक खुसी भएको उनले बताइन् । छोरीले माथिल्लो तहसम्म पढ्ने अवसर पाएपछि र जाँगर गरेपछि आमाको खुसी छचल्किएको हो । प्रमिला भन्छिन्, ‘मेरो पढाइको नतिजाबारे जानकारी पाएपछि आमालाई खुसीको अवस्थामा पहिलोपटक देखेकी थिएँ । त्यो खुसी मैले १२ कक्षा उत्तीर्ण गरेपछिको थियो ।’
प्रमिलाकी आमा बिनकुमारीले भनिन्, ‘मैले त जीवनमा पढ्न पाइनँ । छोरी १२ कक्षा पास भइन् भन्ने सुनेपछि म ज्यादै खुसी भएकी थिएँ ।’ आफ्नो पढ्ने उमेरमा जो कसैले विद्यालय गएर पढ्न पाउने अवस्था नै नभएको उनी बताउँछिन् । ‘त्योबेला पढ्ने भन्ने चलन थिएन । उमेर नपुग्दै विवाह हुन्थ्यो । अर्काको घरमा जाने भनेर बाआमाले पनि पढाउने चलन थिएन । त्यसमा पनि गाउँघरमा बस्ने सामान्य परिवारकी छोरीले पढ्ने मौका कहाँ पाउने ?’ करिब ५५ वर्षीया बिनकुमारीले मनका कुरा खोलिन् ।
प्रमिलाले सदरमुकाम लिबाङको बाल कल्याण माविबाट अघिल्लो वर्ष कक्षा १२ उत्तीर्ण गरेकी हुन् । प्रमिलाको घर रोल्पा नगरपालिका–८ जंकोटको ठूलो गाउँमा हो, जहाँ अझै नियमित सडक, बिजुली र स्तरीय स्वास्थ्य सुविधा पुग्न बाँकी नै छ । गाउँमै खेतीकिसानी गरेर दुःख गर्दै छोराछोरीलाई शिक्षा दिलाउन मेहनत गर्दै आएकी आमा बिनकुमारीले छोरीले पढेर आफ्नै खुट्टामा उभिने प्रयास गर्दा निकै खुसी भइन् । चार सन्तानमध्ये कान्छी छोरी प्रमिलाले मात्रै कक्षा १२ उत्तीर्ण गर्न सकिन् । बिनकुमारीका एक छोरा र एक छोरीले कक्षा १० सम्म मात्रै अध्ययन गरे । परिवारमा प्रमिलाले मात्रै धेरै पढिन् । ‘मैले सबैलाई पढाउन चाहन्थेँ, तर उसले मात्रै माथिल्लो तहसम्म पढ्न जाँगर गरी । म यसैमा पनि ज्यादै खुसी छु,’ बिनकुमारीले सुनाइन् ।
बिनकुमारीका श्रीमान् रणबहादुर वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेका छन् । ‘छोरीले अब माथिल्लो तहमा जे विषय पढे पनि हामी साथ दिन्छौं । विदेशबाट उसको बुबाले पनि छोरीको रिजल्ट थाहा पाएपछि खुसी व्यक्त गर्नुभएको छ । अब क्याम्पस पढाउन पनि साथ दिन्छौं ।’
बिनकुमारीले छोरी पास भएको खबर पहिलोपटक आफ्नै शिक्षक भाइ ध्रुव पुनबाट पाएकी थिइन् । दुर्गममा आफ्ना सन्तानलाई शिक्षा दिलाउन निकै मेहनत गरेका अभिभावकले आफ्ना सन्तानले सफलता पाएको खबर पाउँदा झन् खुसी हुनु स्वाभाविक छ ।
‘अभिवाकहरुको चाहना आफ्ना सन्तानले शैक्षिक सफलता पाऊन् भन्ने हो,’ लिबाङस्थित जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक गोकर्ण पुनले भने, ‘गाउँघरमा गुणस्तरीय शिक्षा दिलाउने शिक्षण संस्था भइदिऊन् भन्ने चाहना पनि हुन्छ ।’ शिक्षा विकास समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीमगरले आफ्ना सन्तानले पढेको देख्दा सबै अभिभावकलाई खुसी लाग्नु स्वाभाविक भएको बताए । रोल्पामा अघिल्लो वर्ष कक्षा १२ मा ३५ विद्यालयका करिब २ हजार ७ सय ३० विद्यार्थीले परीक्षा दिएकामा करिब आधा उत्तीर्ण भएका थिए ।
पश्चिम रोल्पास्थित गंगावदेव गाउँपालिका–३ मा छ, सिद्धार्थ माध्यमिक विद्यालय । रोल्पा र सल्यानको सीमामा अवस्थित उक्त विद्यालयबाट अघिल्लो वर्ष १२ कक्षामा परीक्षा दिएका ४८ मध्ये ३८ विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसै विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्नेमा पर्छिन् एलिशा कवर । पातिहाल्ना गाउँकी एलिशाले कक्षा १२ उत्तीर्ण गरेपछि उनकी आमा अन्जु निकै खुसी भइन् । 
अन्जु एलिशाकी कान्छी आमा हुन् तर सानैदेखि उनले नै हुर्काइन् । आफूले पालनपोषण गरेकी १७ वर्षकी एलिशा १२ कक्षा उत्तीर्ण गरेर बुबासँगै लोकसेवाको तयारीमा जुटेकी छिन् । ‘छोरीले तल्लो कक्षादेखि नै निरन्तर सफलता पाउँदै आएकी छन् । छोरीले सानैदेखि मेहनत गर्दै आएकी हुन् । १२ कक्षा पनि पास गरिन् र अहिले लोकसेवा तयारीमा लागेकी छन् । ज्यादै खुसी लागेको छ,’ अन्जुले खुसी व्यक्त गरिन् ।
घरदेखि १ घन्टा टाढाको सिद्धार्थ माविमा पढ्न पठाउँदै आएकी अन्जुले आफ्नी छोरीलाई कर्मचारी बनाउन चाहन्छिन् । ‘छोरीले लोकसेवा अध्ययन गरून् भन्ने लागेको थियो, उनी मेरो इच्छाअनुसार लागेकी छन् । नानीको बुबाले पनि लोकसेवा अध्ययन गरिरहनुभएको छ,’ उनी भन्छिन् । एलिशाकी सौतेनी आमा अन्जु छोरीको भविष्यका लागि लागेकी छन् । आमाले अर्कैसँग बिहे गरेपछि बुबा जालान्धरले अन्जुसँग बिहे गरेर एलिशालाई पनि हुर्काए । अन्जुले पनि एलिशालाई आफैले जन्माएकी छोरीलाई जसरी व्यवहार गर्दै आएकी हुन् । अन्जुले कक्षा १० सम्म मात्रै अध्ययन गर्न पाएकी थिइन् । २८ वर्षकी अन्जु भन्छिन्, ‘मैले चाहेर पनि बढी पढ्न पाइनँ । तर छोरी एलिशालाई सानैदेखि हुर्काएकी हुँ, पढाउँछु पनि ।’ एलिशाका बुबा जालान्धर पनि छोरीको प्रगति देखेर खुसी छन् । पहिलो सन्तान छोरीले कक्षा १२ उत्तीर्ण गरेपछि परिवारमा खुसीयाली थपिएको उनले बताए ।
