दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि कोदो, फापर जस्ता रैथाने खाद्यान्न प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।
विषादी प्रयोग रोकी स्वच्छ र पोषणयुक्त खानेकुरालाई प्रबर्द्धन गर्न सबैले ध्यान दिनुपर्ने उनले बताए । 'समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच' भन्ने मूल नाराका साथ सोमबार लमहीमा आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा बोल्दै आचार्यले प्रदेश सरकारले रैथाने बालीको संरक्षण, संवर्द्धन र प्रयोगमा आधारित नीति लिने बताए ।
'रैथाने बालीको संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ,’ उनले भने,'पोषण प्रबर्द्धन एक्लो प्रयासले सम्भव हुँदैन । यसमा तीन तहका सरकार, सामाजिक संघसंस्था र समुदायको सहभागिता आवश्यक छ ।'
यसबारे विशेष योजना बनाएर जनताको घरदैलोमा पुग्ने र विद्यालय तहमा यसलाई अभियानका रूपमा लैजाने योजना बनाएको उनले बताए । मकै, गहुँ, जौं, फापर, कोदोजस्ता रैथाने बाली ओझेलमा परेको उल्लेख गर्दै उनले विषादी प्रयोग नगरी खाद्यान्न तथा तरकारी उत्पादनलाई प्राथमिकता दिइने बताए ।
लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था बढ्दो रहेको, मातृ मृत्युदर, बाल मृत्युदर र बाल विवाहजस्ता समस्या उच्च हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव घनश्याम चौधरीले प्रदेश खाद्यान्न, माछा, मासु र दूधमा आत्मनिर्भर भए पनि अन्य क्षेत्रमा अझ सुधार आवश्यक रहेको बताए ।
चौधरीका अनुसार लुम्बिनीमा पुड्कोपनाको अवस्था २५ प्रतिशत, ख्याउटेपना १६ प्रतिशत, कम तौल २३ प्रतिशत तथा पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता ४९ प्रतिशत रहेको छ । प्रजनन् उमेर (१५–४९ वर्ष) समूहका महिलामा ४४ प्रतिशतमा रक्तअल्पता छ ।
पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले विषाक्त खाद्य र पत्रु खानाले मानव स्वास्थ्यमा समस्या उत्पन्न गराएको भन्दै पोषणयुक्त खानाको मात्रा सुनिश्चित गर्नुपर्ने बताए ।
