कपिलवस्तु — टिकटकमा पेस्तोलसहित अन्य हतियार प्रदर्शन गरेपछि एक जना प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका वडा नं. ६ महादेवका २१ वर्षीय रघुबिन्द यादव रहेका छन् । उनले आफ्नो टिकटक अकाउन्टमा पेस्तोल, तरबार र खुडासहितको हतियारको भिडियो बनाएर राखेका थिए ।
उनले बनाएको भिडियोका कारण स्थानीयमा डरत्रास र आतंक सिर्जना भएको सूचनापछि ईप्रका पकडीबाट खटिएको टोलीले यादवलाई मायादेवी गाउँपालिका वडा नं. १ पकडीस्थित मायादेवी होटलबाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मोहनमणि आचार्यले जानकारी दिए ।
उनीविरुद्ध समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्यादन थप गरी अनुसन्धान भइरहेको छ । उनले टिकटकमा प्रदर्शन गरेको हतियार र पेस्तोल कहाँबाट कसरी ल्याएर भन्ने कुराको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
