दाङ — नेपालमा बालविवाह बालअधिकारको मुख्य चुनौती भएको भन्दै ११ जिल्लाका ९७ जना किशोरकिशोरीले आइतबार लमहीमा लुम्बिनी प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिसँग सवाल–जवाफ गरेका छन् । बालविवाह रोकथामका लागि सरकारले गरेका प्रयासबारे किशोरकिशोरीले प्रश्न गरेका थिए ।
साथै उनीहरुले बालविवाह न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुको सट्टा विवाहको उमेर नै घटाउने विषयमा किन बहस सुरु गरेको भनेर नेताहरुसमक्ष प्रश्न गरेका थिए ।
बालअधिकार महासन्धि १९८९, नेपालको संविधान २०७२, बालबालिकासम्बन्धी ऐन २०७५ लगायतका विभिन्न कानुनहरुले सुरक्षित गरेका बालअधिकार संरक्षणका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको विषयमा बहस भएको थियो । जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशमा १८ देखि २० वर्षभित्रका ३५.२ प्रतिशत किशोर र ३७ प्रतिशत किशोरीले विवाह गरेका छन् । बालविवाहका कारण किशोरकिशोरीको शिक्षामा अवरोध पुग्ने, प्रजनन् स्वास्थ्यमा समस्या हुने र मातृ तथा शिशु मृत्युदर बढ्ने जस्ता समस्या सिर्जना भैरहेकोतर्फ किशोरकिशोरीले सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा प्रदेशस्तरमा सक्रिय सिर्जनशील संस्था रुपन्देही, दलित महिला उत्थान संघ बर्दिया, मुक्त कमलरी विकास मञ्च दाङ, सोइया महिला स्वाबलम्बी संस्था रुपन्देही र फातीमा फाउण्डेशन बाँकेका प्रतिनिधिले बालविवाहले समाजमा पारेका विभिन्न प्रभावबारे चित्रात्मक प्रस्तुत गरेका थिए ।
बहसपछि बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरी बालविवाहमुक्त समाज निर्माणमा भूमिका खेल्न किशोरकिशोरीले लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनालाई १६ बुादे ज्ञापनपत्र पनि बुझाएका छन् । ज्ञापनपत्रमा प्रदेश सरकारले बालविवाह न्यूनिकरण तथा अन्त्य सम्बन्धी कानुनी प्रावधानहरु पर्याप्त भए नभएको, कार्यान्वयन भए नभएको मूल्यांकन गरी आगामी रणनीतिहरु अपनाउनुपर्ने माग गरिएको कार्यक्रमकी अध्यक्ष तथा किशोरी सञ्जालकी सदस्य प्रतिभा थापाले बताइन् ।
यसैगरी प्रदेश सरकारले विवाहको उमेर २० वर्षबाट नघटाउन भूमिका खेल्नुपर्ने र प्रदेशस्तरीय बालविवाह न्यूनीकरण तथा अन्त्यसम्बन्धी नियमनकारी समितिहरुलाई क्रियाशील बनाउनुपर्ने माग ज्ञापनपत्रमा समेटिएको छ । थापाका अनुसार बालविवाहले बालबालिकाको शैक्षिक, मानसिक तथा शारीरिक स्वास्थ्यसहित हिंसामुक्त वातावरणमा सर्वांगीण विकास गर्न पाउने अधिकारको हनन गर्ने भएकाले प्रदेशस्तरीय बालविवाहविरुद्धका चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी बालविवाहले गर्दा कठिन परिस्थितिमा जीवन बिताउन बाध्य भएका बालबालिका र तिनका सन्तान लक्षित अधिकारमुखी शैक्षिक, स्वास्थ्य, सामाजिक तथा आर्थिक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ । बालबालिका र किशोरकिशोरीले कुनै हिंसाको सामान गर्नु नपर्ने वातावरण निर्माण गरी उनीहरुले आत्मसम्मानका साथ जीवन बिताउने अबस्था सिर्जना गर्नुपर्ने माग किशोरकिशोरीले गरेका छन् ।
लुम्बिनी प्रदेशमा बाल विवाहको स्थिति, त्यसको कुप्रभावबाट पीडित बालबालिका र घरपरिवारमा परेको नकारात्मक प्रभावसम्बन्धी तथ्यांक संकलन गर्न र त्यही अनुरुप प्रादेशिक नीतिको समिक्षा र संशोधन गरी थप प्रभावकारी योजना बनाई कार्यान्वयन गर्न माग गरिएको छ । प्रदेशभर २० वर्ष भन्दा कम उमेरमा सन्तान जन्माएका किशोरकिशोरी तथा उनीहरुबाट जन्मेका सन्तानको तथ्यांक संकलन गरी उनीहरुका समस्या सम्बोधन गर्न माग गरिएको छ । स्थानीय सरकारले बालविवाह हुन लागेको सूचना पाउने बित्तिकै त्यस्तो विवाह रोक्नका लागि आवश्यक हस्तक्षेपकारी कदम चाल्नुपर्ने र यसमा प्रदेश सरकारले आवश्यक समन्य र सहकार्य गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ ।
बालविवाह रोकथामका लागि सूचना दिने वा यस सम्बन्धी अभियानमा सक्रिय भूमिका खेल्ने अभियन्ताहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अबस्था सिर्जना गर्न पनि किशोरकिशोरीले माग गरेका छन् । बालविवाह रोकथामका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने सम्बन्धित सरकारी निकायलाई कानुन कार्यान्वयनमा जिम्मेवार बनाउन पनि प्रदेश सरकारसँग माग गरिएको छ । बालविवाह भइसेकका बालबालिकालाई प्रजनन् स्वास्थ्यसहित वैवाहिक जीवनमा आइपरेका जिम्मेवारी र समस्या सम्बन्धी एकल तथा जोडी परामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि पेश गरिएको छ ।
यसैगरी बालविवाह न्यूनीकरण सम्बन्धित सबै पक्षका विषयलाई राजनीतिक दलहरुले राजनीतिक मुद्दामा क्रियाशील हुने र बालविवाहविरुद्ध वकालत गर्नुपर्ने माग पनि किशोरकिशोरीले पेश गरेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री तिमिल्सिनाले किशोरकिशोरीले पेश गरेका मागबारे प्रदेश सरकारले गम्भीरताका साथ छलफल गरी सम्बोधन गर्ने बताए । ‘बालविवाहले समाजमा नकारात्मक असर गरिरहेको छ । बालविवाह रोक्न धेरै चुनौतीहरु छन्,’ उनले भने, ‘यसमा प्रदेश सरकार गम्भिर छ । हामी आगामी योजनामा बालविवाह रोकथामका कार्यक्रम समावेश गर्छौं ।’
