प्रधानमन्त्रीलाई २८०० बालबालिकाको पत्र

प्रधानमन्त्री ज्यू, विवाहको उमेर २० नै राखिदिनुहोस्

वैशाख ६, २०८२

दुर्गालाल केसी

A letter from 2800 children to the Prime Minister

दाङ — गढवा–६, मनिकापुर, दाङकी १४ वर्षीया अंकिता रावलले प्रधानमन्त्रीलाई पत्र लेख्न सुरु गरिन् । पहिलोपटक देशको कार्यकारी प्रमुखलाई पत्र लेख्दा सुरुमा उनलाई डर जस्तो लाग्यो । तै पनि साहस गरेर उनले विवाहको उमेर २० वर्ष नै कायम गरिदिन अनुरोध गर्दै पत्र पूरा गरिन् । अनि हुलाकमार्फत् प्रधानमन्त्रीलाई पत्र पठाइन् ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेर २० बाट घटाएर १८ वर्ष कायम गर्नेबारे बहस सुरु गरेपछि ९ कक्षा अध्ययनरत अंकिताले प्रधानमन्त्रीलाई पत्र लेखेकी हुन् । मनिकापुरकै १५ वर्षीय पारस परियारले पनि यसैगरी प्रधानमन्त्रीलाई पत्र लेखे । 

८ कक्षा अध्ययनरत पारसले पहिलोपटक विद्यालय बाहिर पत्र लेखेका हुन् ।‘ पहिले विद्यालयमा बिदाका लागि पत्र लेखेको थिएँ तर बाहिर लेखेको थिइनँ,’ उनले भने, ‘पहिलोपटक प्रधानमन्त्रीलाई नै लेख्नुपर्ने अवस्था आयो ।’

विवाहको उमेर घटाउने बहस चलेपछि माघयता अंकिता र पारस जस्ता २१ जिल्लाका २ हजार ८ सय बालबालिका तथा किशोरकिशोरीले प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । उनीहरुले लेखेको पत्र प्रधानमन्त्रीले हेरे कि हेरेनन् भन्नेबारे भने उनीहरु अन्योलमा छन् । 

मधुवन नगरपालिका–९, बर्दियाकी १९ वर्षीया सम्झना बाँठाले पनि यसैगरी पत्र लेखिन् । उनको गाउँबाट मात्रै २० जनाले पत्र लेखेका थिए । ‘प्रधानमन्त्रीलाई चिठी त पठाइयो तर उहाँले पढ्नुभयो होला कि छैन होला भन्ने लागिरहेको छ,’ उनले भनिन्, ‘पक्कै पनि पढेर हाम्रो माग सम्बोधन गर्नुहुन्छ होला भन्ने लागेको छ ।’

विवाहको उमेर १८ वर्ष बनाउँदा बालबालिकाको भविष्य अन्योलमा पर्ने, उच्च शिक्षामा अवरोध सिर्जना हुनसक्ने, किशोरीमा प्रजनन स्वास्थ्यका समस्या हुने र मातृ तथा शिशु मृत्युदर बढ्नसक्ने भन्दै बालबालिका र किशोरकिशोरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ‘विवाह बढ्यो भनेर उमेर घटाउने त होइन नी, बालविवाह पो घटाउनुपर्‍यो,’ नेपालगञ्ज उपमहानगरपालिका–१५, बाँकेकी १७ वर्षीया नन्दनी सिं ठकुरीले भनिन्, ‘उमेर घटाएमा हामी जस्ता धेरै किशोरीको भविष्य अन्योलमा पर्छ ।’

विवाहको उमेर घटाएमा अभिभावकले छिट्टै विवाह गरिदिने प्रचलन रहेका समुदायका बालिकाहरु असुरक्षित हुने देवदह नगरपालिका–१, रुपन्देहीकी १६ वर्षीया नन्दनी अग्रहरीले बताइन् । ‘हाम्रो समुदायमा छोरीलाई पढाउने भन्दा छिट्टै विवाह गरिदिने चलन छ । उमेर घटाएमा यसलाई झन मद्दत पुग्छ,’ उनले भनिन्, ‘त्यसकारण उमेर घटाउने काम नगरिदिनुहोला भनेर प्रधानमन्त्रीलाई पत्र पठाएका हौं ।’

विवाहको उमेर नघटाउन माग गर्दै विभिन्न समुदायमा क्रियाशिल २८ संघसंस्थाले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरुलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् । विवाह उमेर घटाएमा विद्यालय छोड्ने बालबालिकाको संख्या बढ्ने र यसले अन्ततः महिलाहरुको आर्थिक अवस्था निकै कमजोर बनाउने उनीहरुको भनाइ छ ।

विवाहको उमेर २० वर्ष भएका कारण कतिपय समुदायका किशोरकिशोरीले पहिलोपटक स्नातक तह पढ्न पाएका उदाहरण छन् । त्यस्तै मध्येकी एक हुन् शुद्धोधन गाउापालिका–६, गुरौलीया टोल, रुपन्देहीकी लक्ष्मी लोध । उनी अहिले बिबिएस् तेस्रो वर्षमा अध्ययनरत छिन् । उनको गाउँमा ४३ घर लोध समुदाय छन् । 

उक्त गाउँमा स्नातक पढ्ने उनी नै पहिलो किशोरी हुन् । ‘हाम्रो समुदायमा ८/१० कक्षा पढेर विवाह गरिदिने चलन छ,’ उनले भनिन्, ‘विवाहको उमेर २० वर्ष बनाएका कारण कानुनी डरले भए पनि मैले स्नातकसम्म पढ्न पाएँ । नत्र मेरो विवाह भैसक्थ्यो ।’ उनले पनि प्रधानमन्त्रीलाई पत्र लेखेर विवाहको उमेर २० नै कायम गर्न अनुरोध गरेकी छिन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा धेरै विवाह गर्नेको उमेर १८ देखि २० वर्षको बीचमा नै छ । जस अनुसार १८ देखि २० वर्ष उमेर समूहका ७१ लाख १६ हजार ६ सय ५९ किशोरमध्ये ३२.६ प्रतिशत अर्थात २३ लाख १८ हजार ६ जनाले विवाह गरेका छन् । 

यसैगरी यही उमेर समूहका ८९ लाख ६ हजार २ सय ११ किशोरीमध्ये ३५.९ प्रतिशत अर्थात ३१ लाख ९३ हजार ६ सय २० ले विवाह गरेका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully