कुवेतमा बन्धक बनाइएकी महताराको सकुशल उद्धार

वैशाख ५, २०८२

रामप्रसाद चौहान 

Mahtara's safe rescue in Kuwait

बर्दिया — कुवेतमा बन्धक बनाइएकी एक नेपाली महिलाको सकुशल उद्धार गरिएको छ । मधुवन नगरपालिका-८ की ३७ वर्षीया विष्णु महताराको उद्धार गरी जिल्ला प्रशासनले बिहीबार आफन्तको जिम्मा लगाएको हो ।

केही दिनअघि कुबेतबाट नेपाल झिकाउन हारगुहार गर्दै महताराको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । दीपकबहादुर महताराले श्रीमतीलाई घर बोलाउन गत चैत २८ गते प्रशासनमा निवेदन दिएका थिए ।

वैदेशिक रोजगारमा पठाउने मधुवन नगरपालिका-८ की गौरी जुल्मी मगरलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई केरकार गर्दा उद्धार सम्भव भएको हो । गौरीले कुवेतका एजेन्टलाई दुई लाख नगद र नेपाल फर्किन टिकटको खर्च बेहोरेपछि मात्र विष्णु नेपाल फर्किएकी हुन् ।

गत पुस ९ गते काठमाडौंबाट कुवेत उडेको विष्णुले बताइन् । ‘कुवेत पुगेपछि घरेलु काममा लागे । दुई महिना पुग्दा नाक र मुखबाट रगत बग्न थाल्यो,’ उनले भनिन्,‘मालिकले रगत बगेको देखेपछि मलाई अफिसमा बुझायो । नेपाल फर्किन अफिस (एजेन्ट)ले तीन लाख घरबाट मगाउन भन्यो ।’

घरबाट आर्थिक जोहो नभएपछि नेपाल झिकाउन भिडियो बनाएको उनले बताइन् । ‘भिडियो सार्वजनिक गरेपछि मेरो मोबाइल पनि खोसियो । धेरै यातना पनि दियो,’ उनले भनिन् । करिब २३ दिन थुनामा बसेर स्वदेश फर्किएको सुनाइन् । ऋण तिर्ने चक्करमा श्रीमान्‌लाई नभनेर विदेशिएको उनको भनाइ छ । विष्णुका अनुसार गौरीले पठाएका केही अन्य महिला पनि कुवेतमा अलपत्र छन् । गौरीले बढैयाताल गाउँपालिकाका मीनबहादुर केसीको पनि वैदेशिक रोजगारमा पठाउने काममा संलग्नता रहेको आरोप लगाउँदै आएकी छन् ।

गौरी र केसीलाई सँगै राखेर छलफल गर्दा वास्तविकता खुल्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । ‘उद्धारका लागि निवेदन आउनसाथ गृह मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत फर्काउन पहल गरियो,’ प्रजिअ शर्माले भनिन्,‘यता वैदेशिक रोगजारमा पठाउने गौरीलाई नियन्त्रणमा लिई केरकार गर्दा उद्धारमा सहजता भएको हो ।’ 

प्रजिअ शर्माका अनुसार गत असोजमा निवेदन परेको २४ घण्टामा कुवेतबाट ३६ वर्षीया रेखा विकलाई पनि फर्काइएको थियो । गत असोज ३० गते निवेदन परेको १५ औं दिनमा कुवेतबाट बाँसगढी–१ की उषा परियारलाई स्वदेश फर्काइएको थियो । गत चैतमा बढैयाताल गाउँपालिका–४ की १७ वर्षीया एक युवतीलाई ललाइफकाई एक जनाले भारतको दिल्लीमा राखेको जानकारी पाएपछि सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको प्रजिअ शर्माले जनाइन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully