गाडी र सामानसहित ३६ लाख बढी मूल्य कायम गर्दै सामान र गाडीसहित भन्सार दाखिला
बुटवल — सशस्त्र प्रहरीले रूपन्देहीका दुई स्थानबाट १४ लाख रुपैयाँ भन्दा बढी मुल्यको भन्सार छलेको सामानसहित दुई गाडी नियन्त्रणमा लिएको छ । दुई स्थानमा बरामद भएका सामानको १४ लाख ४ हजार ७ सय ६५ रुपैयाँ र दुई गाडीको २२ लाख मूल्य गरी ३६ लाख ४ हजार ७ सय ६५ रुपैयाँ कायम गरी भन्सार दाखिला गरिएको छ ।
प्रहरी बल नेपाल सुरक्षा वेश बुटवलले बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गबाट पोखरातर्फ लैजान लागिएको ६१ बोरा चिउरा र लत्ताकपडासहित लु १ ज ३७९६ नम्बरको जिप नियन्त्रणमा लिइएको हो । उक्त सामाग्रीको मूल्य ७ लाख ६४ हजार ५ सय ३५ रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित पूर्वपश्चिम राजमार्गबाट करिब ६ लाख ४० हजार २ सय ३० रूपैयाँ बराबरको सामानसहित अर्को लु १ च ५६२० नम्बरको गाडीमा भन्सार छलेर ल्याउँदै गरेको लत्तकपडा तथा जुत्तचप्पलसहितको गाडी पनि नियन्त्रणमा लिएको छ ।
उक्त गाडीले पश्चिमतर्फबाट पूर्वतर्फ सामान लिएर जाँदै गर्दा बरामद गरिएको हो । दुवै गाडीबाट ओसारपसार गरिएको सामान र गाडी बिहीबार राति नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
