बर्दियामा थारु समुदायले गरे हात्ती पूजा 

वैशाख २, २०८२

रामप्रसाद चौहान 

Tharu community performed elephant worship in Bardiya

बर्दिया — मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न थारु समुदायका गुरुबाले हात्ती पूजा गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अगुवाइमा ठाकुरबाबा नगरपालिका–९ हात्तीसार स्थित मंगलबार बिहान हात्ती पूजा गरिएको हो ।

स्थानीय थारु गुरुबा(पुजारी)हरूले हात्तीलाई शान्त गर्न पूजा गरेका छन् । हात्तीसारस्थित रहेका हात्तीलाई उखु, केरा, केरालगायत फलफूल खुवाएर हात्ती पूजा गरिएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरि थारु समुदायको बढी बाहुल्य रहेको छ । जसले गर्दा थारु समुदाय हात्तीबाट प्रत्यक्ष प्रभावित हुन्छन् । हात्तीको थारु संस्कृतिसँग सम्बन्ध भएकोले थारु गुरुबालाई प्रयोग गरी हात्तीगज स्थानमा मौलो बनाइ हात्ती पूजा गरिन्छ । हात्ती पूजा गरे हात्ती शान्त हुने र मानवीय क्षति नगर्ने विश्वास रहेको थारु समुदायका गुरुबा ठाकुरप्रसाद थारुले बताए । 

Tharu community performed elephant worship in Bardiya

वास्तवमा जीवित देउता गणेश (हात्ती)मात्र रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले बताए । ‘हात्तीलाई छुन, महसुस, नमस्कार र आफूले हृदयदेखि पूजा गर्न सक्छौँ,’ उनले भने, ‘तर जंगलमा उनीहरूको अस्तित्व संकटमा छ ।’ जंगलमा हात्तीको बासस्थान र उनीहरू हिँड्ने बाटोहरू सुरक्षित गर्नुपर्ने सँगसँगै स्थानीय जनताहरूको जीविकोपार्जनसँग हात्तीबाट हुने विभिन्न क्षतिलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रम भए पनि धार्मिक सम्बन्ध गणेशजीसँग भएकोले मानव हात्ती द्वन्द्व घटोस्, मानवको हात्ती प्रति धारणा सकारात्मक होस् भन्ने उद्देश्यले हात्ती पूजा गरिएको प्रमुख संरक्षण अधिकृत डा. रामले धारणा व्यक्त गरे ।

Tharu community performed elephant worship in Bardiya

पहिला हात्तीसारमा दसैंको दिन हात्तीबाट सुँगुर कुल्चाएर हात्ती पूजा गर्ने चलन रहेको चोरी सिकारी नियन्त्रण युवा परिचालनका अध्यक्ष हेमन्त आचार्यले बताए । ‘पहिला ठूलो मेलाको रूपमा हुन्थ्यो,’ उनले भने, ‘बीचमा केही समय बन्द भयो, विसं २०७१ सालदेखि हात्तीद्वारा सुँगुर नकुल्चाएर अन्य गतिविधिमा हात्ती महोत्सव विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आयौँ ।' पछिल्लो समयमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । विसं २०७३ पछि यहाँका स्थानीय गुरुबाको सहयोगमा मानव र हात्तीबिचको द्वन्द्व न्यूनीकरणको लागि विशेष हात्ती पूजाको थालनी भएको उनले बताए।

‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँग द्वन्द्व र हानी नोक्सानी’ भन्ने नाराका साथ सोमबारदेखि ३०औँ वन्यजन्तु सप्ताह सुरु भएको छ । दोस्रो दिन मंगलबार हात्ती पूजा गरिएको छ । सात दिनसम्म विविध कार्यक्रम गरी सप्ताह व्यापी कार्यक्रम गर्ने निकुञ्जको तयारी छ ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully