नयाँ वर्षको अवसरमा सांगीतिक प्रस्तुतिले गुञ्जिए बाँकेका होटल

वैशाख २, २०८२

रुपा गहतराज

On the occasion of the New Year, Bankeka Hotel was resounded with musical performances

नेपालगन्ज — बाँकेमा नयाँ वर्षको अघिल्लो दिनदेखि नै मुख्य बजार क्षेत्रका होटलमा आन्तरिक र बाह्य पर्यटकको भीड बढ्दै थियो । नयाँ वर्षको अघिल्लो साँझ आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी हुन आगन्तुकहरु उत्साहित थिए । उक्त उत्साह नयाँ वर्षको दिन पनि रह्यो । 

स्वदेशी मात्र नभइ छिमेकी देश भारतबाटसमेत पर्यटकहरु नयाँ वर्ष मनाउन नेपालगन्ज आएका थिए । अघिल्लो साँझ नेपालगन्ज सांगीतिक प्रस्तुतिले गुञ्जायमान बन्यो । 

होटल सिद्धार्थका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले भने, ‘हाम्रो होटेलमा छेवाङ एन्ड द क्रेटर्स ब्यान्डको पहिलोपटक लाइभ शो गरियो ।’

नेपाली नयाँ वर्षलाई बर्सेनि नयाँ–नयाँ इभेन्टबाट उत्सवमय मनाउँदै आएको नेपालगन्जस्थित होटल सिद्धार्थले यसपटक पनि निरन्तरता दिएको हो ।

‘पश्चिम नेपालको सांगीतिक इतिहासमा पहिलोपटक, देशभरि लाखौंको मन जितिसकेको चर्चित ब्यान्ड छेवाङ एन्ड द क्रेटर्स ब्यान्डले नेपालगन्जको होटल सिद्धार्थमा उत्कृष्ट प्रस्तुति दियो,’ होटलका जनरल म्यानेजर बद्री कोइरालाले भने, ‘नयाँ वर्षको पूर्वसन्ध्याको अवसरमा आयोजना हुने यो विशेष कार्यक्रमले सहर नै उल्लासमय बनायो ।’

आयोजकका अनुसार, छेवाङ एन्ड द क्रेटर्स ब्यान्ड ले ‘जाउ हिँड कान्छी’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘कस्तो माया तिमीसँगै बस्यो’, ‘आउँदै छु हेर तिमीलाई लिन’, ‘जाउ हिँड माया काठमाडौं सहर’, ‘मेरो संसार तिमी मेरो जिउने आधार तिमी’, जस्ता दर्जनौं सुपरहिट गीतहरूमार्फत् दर्शकलाई नचाए ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले सिद्धार्थले स्थानीय प्रतिभालाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको बताए । ‘यसपटक कार्यक्रमको सुरुवातमा द समय ब्यान्डले सांगीतिक माहोल ततायो ,’ कार्यकारी निर्देशक न्यौपानेले भने , ‘यसले कार्यक्रममा मौलिकता र क्षेत्रीयताको मिठास थपेको महसुस गरेका छौं ।’

नेपालगन्जको किचन टप रेस्टुरेन्टमा नयाँवर्ष इभको कार्यक्रममा टंक तिमिल्सिनाले प्रस्तुति दिए । तिमिल्सिनासँगै सुरज थापा र दाजु बहिनी ब्याण्डकोसमेत प्रस्तुति रहेको थियो ।

नयाँवर्ष २०८२ लाई स्वागत गर्न तथा पर्यटकहरु भित्र्याउन  सांगीतिक कार्यक्रम आयोजना गरिएको रेस्टुरेन्टका सञ्चालक इन्द्रमान थापाले बताए । 

‘नरेन लिम्बु एण्ड दी जेन्टलमेन’ ब्याण्डले नेपालगन्जमा पहिलो पटक दर्शकहरुलाई मनोरञ्जन गरायो । नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गरेको  ‘न्यु एयर इभ–२०८२’ मा चर्चित आस्था ब्याण्डका गायक नरेन लिम्बुको प्रस्तुति थियो । 

चैत्र ३१ गते साँझ हुने कार्यक्रमको लाइन अपमा दाङको ‘संघर्ष ब्यान्ड’ , ओपनिङ एक्टमा ’दी फिरन्ते ब्यान्ड’ , मेन एक्टमा ‘नरेन लिम्बू एंड दी जेन्टलमेन’ ब्यान्ड र अन्त्यतिर ‘डिजे अनोनीमस्’ले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराएको आयोजक सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका जनरल म्यानेजर राज विक्रम शाहले बताए ।

यस्तै नयाँ वर्ष २०८२ को अवसरमा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा ‘न्यु एयर इभमा चर्चित गायक चक्र बम, गायिका भूमिका गिरी र मोडल तथा डान्सर रुबिना अधिकारीले प्रस्तुति दिए ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully