कर्णाली र बबईले बगाउने काठको भारतमा ठेक्का

वैशाख २, २०८२

कमल पन्थी

Karnali and Babai logging contracts in India

बर्दिया — बर्दियाबाट बग्ने कर्णाली र बबई नदीबाट हरेक वर्षायाम बहुमूल्य काठ पनि बग्ने गरेको छ । यहाँबाट बग्ने करोडौं मूल्यको काठका लागि भारतमा भने ठेक्का लाग्ने गरेको छ । 

बहुमूल्य काठ बगे पनि डिभिजन वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जले कानुनी अड्चनले कार्यान्वयन गर्न सकेका छैनन् । विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्ज र पहाडी क्षेत्रबाट कर्णाली र बबईमा बगेर आउने साल, सिसौलगायत बहुमूल्य वन पैदावार बग्ने गर्छ । हरेक वर्षायाममा हजारौं सानाठूला रुख बगाएर भारततर्फ लाने गरेको छ । 

स्थानीय स्वायत्त शासन ऐन र वन ऐनबीचको कानुनी अड्चनका कारण बर्दियाबाट बग्ने कर्णाली र बबई नदीबाट करोडौंको वन पैदावार भारततर्फ बगिरहेको छ । नेपाली भूभागबाट बगेर भारततर्फ जाने वन पैदावार कानुनी जटिलताका कारण आफ्नै मुलुकमा रोक्न नसकिने स्थिति उत्पन्न भएका कारण बगेर जाने गरेको वनका कर्मचारी बताउँछन् । 

नेपाली भूभागबाट बगेर गएको वन पैदावार भारतीय सीमानामा बनाइएको कर्णालीको बाँध गिरीजापुरीमा संकलन गर्न दुई वर्षका लागि तीन करोड भारुको ठेक्का दिएको गिरीजापुरी बाँधका एक कर्मचारीले बताए ।

गत वर्ष आएको बाढीले पनि धेरै रुख बगाएको स्थानीयको भनाइ छ । गेरुवाका दिलबहादुर थारुले सरकारको स्पष्ट नीति नभएका कारण बगेर गएको काठ संकलन गरे आफूहरुलाई कारबाही हुने गुनासो पोखे । डेढ दशकअघि साबिक जिल्ला विकास समितिले वन मन्त्रालयलाई पत्रचार गरी ठेक्का संकलनको माग गरेको थियो । त्यस समय मन्त्रीस्तरीय निर्णयले उक्त अधिकार दिने व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

निकुञ्ज, वन र स्थानीय तहबीच समन्वय नहुँदा समस्या भएको स्थानीयको भनाइ छ । स्थानीय शासन ऐन २०५५, नियमावली २०५६ को दफा २१८ परिच्छेद ५ मा दहत्तर-बहत्तरलगायत नदीनालाको बालुवा, गिट्टी, ढुंगा बिक्री गर्ने व्यवस्था स्पष्ट हुदाँहुँदै वन ऐनको परिच्छेद बाझिएकाले यसलाई कार्यान्वयन गर्न कठिनाइ भएको वनका कर्मचारी बताउँछन् । 

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी  वन अधिकृत रामकुमार चौधरीले उपभोक्तामार्फत काठ संकलन गर्ने व्यवस्था रहेको बताए । व्यक्तिगत रुपमा बगेको काठ संकलन गर्न नमिल्ने उनको भनाइ छ । 'बर्सेनि नदी, खोलाबाट काठ कति बग्छ, यसको तथ्यांक डिभिजन वन कार्यालयसँग छैन । अनुमान गर्न कठिन छ,’ उनले भने, ‘बाढीले करिब बबई, कर्णालीलगायत नदी खोलाबाट वार्षिक करोड बढीको बगेको अनुमान मात्रै गर्न सकिन्छ ।' 

निकुञ्जले २०५२/०५३ सालमा काठ संकलनका लागि ठेक्का दिएको थियो । तर कानुनी अड्चन र संकलन खर्च महँगो हुँदा काठ खेर गएको भन्दै २०५३ सालदेखि रोक लगाएको थियो । यस सम्बन्धमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक रामले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । उपभोक्ताले संकलन गर्न पाउने तर यसका लागि नीति बनाउन जरुरी रहेको उनले बताए । 

भारतले वन पैदावार संकलन गर्न सीमावर्ती क्षेत्र गिरीजापुरीस्थित बबई नदी (भारतमा सर्यु नदी) मा निर्माण गरेको बाँधमा वर्षायाममा ढोका बन्द गरिदिनाले पानीको बहाव उत्तरतिर बढ्दै गई नेपाली भूभाग डुबान हुने गरेको छ । बबई नदीको बाँध भारतीय सीमास्थित गोपिया ब्यारेज रहेको छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully