मुख्यमन्त्री आचार्यद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल

वैशाख २, २०८२

दुर्गालाल केसी

Appeal by Chief Minister Acharya for compulsory enrollment of out-of-school children

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न मंगलबार विद्यालयहरूलाई निर्देशन दिएका छन्।

शिक्षा सबैको मौलिक हक भएकाले एक जना पनि बालबालिका विद्यालय बाहिर नरहुन् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक तथा सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए।

लुम्बिनी प्रदेशमा शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान जारी छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सञ्चालन गरिएको हो।

प्रदेशमा कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको छ। अघिल्लो वर्षको शैक्षिक तथ्याङ्कअनुसार प्रदेशमा प्रारम्भिक बालविकास कक्षामा कुल भर्ना दर ९९.९ प्रतिशत रहेको छ भने खुद भर्ना दर ७०.६ प्रतिशत रहेको छ। कक्षा १ मा खुद प्रवेश दर ९५.७ प्रतिशत छ।

आधारभूत तह (कक्षा १–८) मा खुद भर्ना दर ९५.२ प्रतिशत तथा माध्यमिक तह (कक्षा ९–१०) मा खुद भर्ना दर ७६.५ प्रतिशत रहेको छ। माध्यमिक तह (कक्षा ११–१२) मा खुद भर्ना दर ३७.१ प्रतिशत छ। यस्तै, माध्यमिक तह (कक्षा ९–१२) मा खुद भर्ना दर ५७.९ प्रतिशत रहेको छ।

मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालयबाहिर नपरोस् भन्ने उद्देश्यले अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताएका छन्।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully