नयाँ वर्षमा पाल्पाको गुफाचौरमा खाना महोत्सव 

वैशाख १, २०८२

माधव अर्याल

A food festival at Gufachaur in Palpa in the new year

पाल्पा — नयाँ वर्ष २०८२ को पहिलो दिन पाल्पाको पर्यटकीयस्थल तानसेन नगरपालिका-१० तेल्घाको गुफाचौरमा पहिलोपटक खाना तथा पर्यटन महोत्सव आयोजना गरिएको छ । तेल्घाको गुफाचौरमा स्थानीय समुदायले कला संस्कृति जगेर्ना गर्न नयाँ वर्षका अवसरमा खाना तथा पर्यटन महोत्सव आायोजना गरेको हो ।

गुफाचौरमा तेल्घा, मस्याम, बन्दीपोखरालगायतका स्थानबाट स्थानीय परम्परागत खानाका परिकार बटुक, सेलरोटी, चुकाउनी, मेवाको अचार प्रदर्शनी तथा बिक्री गरिएको थियो । महोत्सवमा पाल्पाबाहेक गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँचीबाटसमेत अवलोकनका लागि आएका थिए । 

महोत्सवको प्रतिनिधिसभामा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले उद्घाटन गर्दै गुफाचौरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय पालिकाले योजना बनाउनुपर्ने र संघीय सरकारले सहयोग गर्ने बताए । ‘यहाँको जनताको अपेक्षा बमोजिम पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्न सघाउने नै छौं,’ उनले भने, ‘स्थानीय सरकार, प्रदेश र संघीय सरकारको पहलकदमीमा गुफाचौर क्षेत्रलाई विकास गर्ने दृढ अठोट छ ।’ 

A food festival at Gufachaur in Palpa in the new yearमहोत्सवमा महिला तथा पुरुष समूहको पञ्चेबाजा, लोक तथा दोहोरी एवं चुट्का गायक शिरिष देवकोटाले महोत्सवमा नचाए । मगर संस्कृतिमा आधारित झाम्रे लगायत नाचका साथै कला केन्द्रको प्रस्तुति थियो । स्थानीय खानाका परिकारले सबैलाई आकर्षित तुल्याएको थियो भने नयाँ वर्ष मनाउने जानेहरुले शुभकामना आदानप्रदान गर्दै खानपिन गरेका थिए । 

गुफाचौरबाट प्राकृतिक मनोरम दृष्यावलोकन गर्न सकिन्छ । मनोरम तथा रमणीय स्थल भएर पनि प्रचारप्रसारको अभावमा पछाडि परेको छ । पर्यटकीयस्थल गुफाचौरको प्रचारप्रसार गरी आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव राखिएको हो । झण्डै १० हजार दर्शकले एकै दिनमा गुफाचौरको महोत्सव अवलोकन गरेका छन् । तराई मधेशमा गर्मी बढ्दै गर्दा चिसो हावाको आनन्द लिन गुफाचौर आउन सकिन्छ । 

A food festival at Gufachaur in Palpa in the new yearगुफाचौरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने उदेश्यले २०५४ सालदेखि विभिन्न प्रयास भए पनि त्यसले मुर्तरुप लिन नसक्दा पछि परेको वडाध्यक्ष हिमलाल पंगेनीले बताए । आयोजक समितिका अध्यक्ष कृष्णबहादुर रानाले गुफा चौर क्षेत्रमा काफल, लालीगुराँस संरक्षण गर्दै विशाल गणेशको मुर्ति राख्ने योजना अघि बढेको बताए । अहिले पनि गर्मी छल्नका लागि आउनेका लागि केही होटलको व्यवस्था गरिएको छ । आगामी दिनमा गुरुयोजना बनाएर अघि बढ्ने योजना रहेको उनले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully