बर्दिया — जिल्ला कारागार बर्दियामा क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा भरिएपछि रुखा, खोकी लगायत बिरामीले प्रभावित भएका छन् । सुत्ने कोठाको अभाव र पर्याप्त शौचालय नहुँदा समस्या भएको छ ।
गर्मीयाममा कोचाकोच गरी कैदी कारागारमा बस्न थालेपछि दैनिक जसो रुघाखोकी, टाउको दुख्ने लगायतका बिरामी बढ्दै गएका छन् । १ सय २५ जना क्षमता भएको कारागारमा ४ सय ३३ जना कैदी कोचेर बस्न बाध्य छन् ।
हाल महिला कारागारमा २ आश्रित बालबालिकासहित ४८ जना छन् । पुरुष तर्फ २ सय ७३ जना कैदी र थुनुवा १ सय १० जना रहेको कारागारका निमित्त जेलर नरबहादुर सार्कीले बताए ।
यीमध्ये सबैभन्दा बढी जबरजस्तीकरणी मुद्दाका कैदी र थुनुवा सहित १ सय ६१ जना कारागारमा रहेका छन् । यसै गरी दोस्रोमा लागुऔषध मुद्दाका ८१ जना पुरुष र ३२ जना थुनुवा र कैदीबन्दी छन् ।
२०२८ सालमा निर्माण भएको कारागार जीर्ण छ । वर्षायाममा पानी चुहिने र रसाउने गर्छ । निमित्त प्रमुख सार्कीले भने,‘ कारागारमा पर्याप्त बजेट नहुँदा विद्युत् र पानीको रकम अपुग छ, विद्युत्का लागि महिनामा २ लाख खर्च हुन्छ । बजेट भने वार्षिक ६ लाख रहेको छ । कारागारमा अन्य जिल्लाबाट स्थान्तरण गरिएका कैदीका कारण कैदी थपिँदै गएका छन् ।’
यस कारागारमा पञ्चायत र सशस्त्रद्वन्द्वका समय थुप्रै राजबन्दी बसेका छन् । स्वर्गीय प्रधानमन्त्री शुशिल कोइराला, पूर्व सभामुख तारानाथ रानाभाट लगायतका नेताले यस कारागारमा सजाय भोगिसकेका छन् । सजाय भोगिसकेर ठूलो ओहदामा पुगे पनि कारागार भने सुधार हुन सकेको छैन ।
करिब डेढ दशकअघि कारागारसँग जोडिएको स्थानमा महिला कैदी र थुनुवाका लागि छुट्टै भवन निर्माण भएको थियो । २५ जना बस्ने उक्त कारागार पनि भरिन थालेको छ । हाल महिला कैदी ४८ जना छन् ।
