प्रदेशस्तरीय फुटबलको उपाधि बर्दियालाई

चैत्र ३०, २०८१

दुर्गालाल केसी

State level football title to Bardia

दाङ — लुम्बिनी प्रदेश खेलकुद परिषद्‍को प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बर्दियाले उचालेको छ । घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदानमा शनिबार दिउँसो भएको फाइनलमा दाङलाई उसकै घरेलु मैदानमा हराउँदै बर्दियाले उपाधि उचालेको हो ।

प्रतियोगिताको च्याम्पियन बनेको बर्दियाले फाइनलमा १–० गोलको नतिजा निकाल्दै उपाधि माथि कब्जा जमायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने अवसर बनाए पनि नतिजा निकाल्न संघर्ष गर्नुपर्‍यो । पहिलो हाफ गोलरहित अवस्थामा सकिए पनि दोस्रो हाफमा बर्दियाले गोल गरेको थियो । खेलको ६०औं मिनेटमा बर्दियाले पाएको कर्नर नतिजा निकाल्ने आधार बन्यो ।

बर्दियाका संगम सारुले कर्नरबाट प्रहार गरेको बललाई दाङका गोलकिपर प्रतीक सुनारले पन्च गर्दै डी एरियाबाहिर पठाए पनि रिबाउन्ड भएको बल सुनिल आलेले गोलमा परिणत गरे । उनले करिब २५ यार्ड परबाट पाएको मौका खेर जान दिएनन् । उनले बायाँ बार च्याप्दै गरेको राइट फुटेड प्रहारले सिधै जाली चुम्यो । सुनिल प्लेयर अफ द म्याच पनि बने ।

यसअघि फाइनलमा पुग्न दाङले प्युठान र बाँकेलाई हराएको थियो भने बर्दियाले रोल्पा र पाल्पालाई हराएको थियो ।

State level football title to Bardia

प्रतियोगिताको च्याम्पियन बनेको बर्दियाले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता दाङले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी दाङका हरि बुढा घोषित भए । सर्वाधिक गोलकर्ता दाङका विशाल वली हुँदा बाँकी विधामा बर्दियाका खेलाडीको वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर बर्दियाका विशाल थारु, उत्कृष्ट डिफेन्डर बर्दियाका मनिष खड्का, उत्कृष्ट मिडफिल्डर बर्दियाका संगम सारु र उत्कृष्ट प्रशिक्षक पनि बर्दियाका रामजीत थारु घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी हरि बुढाले नगद १० हजार रुपैयाँ पाउँदा विधागत रुपमा उत्कृष्ट सबैलाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।

प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथिसमेत रहेका भौतिक पूर्वाधार तथा विकासमन्त्री भूमीश्वर ढकालले समाज निर्माणको आधार खेलकुद बन्न सक्ने बताए । उनले प्रदेश सरकारले खेलकुदको विकासका लागि नीतिगत रुपमा काम गर्ने प्रयास गरिरहेको भन्दै यसको संस्थागत विकासका लागि आगामी दिनमा बजेट बढाउँदै खेल पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully