पाल्पा — आज बिहान करिब ४ बजे खसेको पहिरो र निर्माणाधीन कल्भर्टमा टिपर फसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा क्षेत्रमा उक्त घटना भएको हो। कल्भर्टमा फसेको टिपर निकालिएको छ भने पहिरो पन्छाउने काम जारी छ।
सडक एकतर्फी खुलेपछि रोकिएका सवारी साधनहरूलाई पालैपालो गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा तथा अन्य पहाडी जिल्लातर्फ आउने सवारी साधनहरू सञ्चालनमा आएका छन्।
सोही पहिरोले बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेशको ज ०२७६ नम्बरको कारसमेत पुरेको थियो। कार पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यसमा सवार चालक र यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। गुडिरहेको बेला कारलाई माथिबाट खसेको पहिरोले पुरेको थियो।
निर्माणाधीन कल्भर्टमा फसेको टिपरलाई हेभी इक्विपमेन्ट (ठूला मेसिन) को सहायताले निकालिएको हो। हाल सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ मार्ग निर्माणका साथै राजमार्गमा कल्भर्ट, नाली र रक नेटिङको काम गरिरहेको छ।
सिद्धार्थ राजमार्ग तराईलाई पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका पहाडी जिल्लाहरूसँग जोड्ने प्रमुख मार्ग हो। सिद्धबाबा क्षेत्र कमजोर भू-बनावटका कारण वर्षायाम होस् वा सुख्खायाम, जुनसुकै बेला पहिरो खस्ने जोखिमपूर्ण ठाउँका रूपमा चिनिन्छ।
