भैरहवा — नेपाली नयाँ वर्षका दिन रूपन्देहीको तिलोत्तमा–१५ स्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस बाइ सोल्टीमा कुटुम्ब ब्यान्डले आफ्नो प्रस्तुति दिने भएको छ । नेपाली नयाँ वर्षलाई विशेष बनाउन सस्तो खानपिन प्याकेजसहित मुलुककै लोकप्रिय ब्याण्डको प्रस्तुति राखिएको रिसोर्टले जनाएको छ ।
मुख्यगरी स्वदेशी पाहुनालाई लक्षित गरेर नयाँ वर्षको पहिलो दिन सांगीतिक प्रस्तुतिसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएको रिसोर्टद्वारा जारी विज्ञप्तिमा बताइएको छ । त्यसदिन रिसोर्टमा आउने पाहुनाले करिब ३ हजार रुपैयाँमै खानपिन र मनोरञ्जनको सुविधा पाउने छन् ।
टाइगर प्यालेस बाइ सोल्टीका जनरल म्यानेजर (जीएम) अग्निमित्र शर्माका अनुसार नयाँ वर्षका दिन साँझ ७ देखि ११ बजेसम्म विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । यसक्रममा साँझ ८ देखि १० बजेसम्म कुटुम्ब ब्यान्डको प्रस्तुतिमा झुम्दै पाहुनाले खानपिनको मजा लिन सक्ने व्यवस्था गरिएको छ ।
जीएम शर्माका अनुसार १० देखि साढे ११ बजेसम्म डीजे म्युजिकको व्यवस्था गरिएको छ । रिसोर्टको क्याभना क्षेत्रमा डीजेको तालमा पाहुना र उपस्थित दर्शक नाच्न पाउनेछन् । साथै सस्तोमा खानपिन प्याकेजसँगै सहभागीलाई विभिन्न उपहार, पुरस्कारको समेत व्यवस्था गरेको शर्माले जानकारी दिए । रिसोर्टले पाहुना र दर्शकले त्यस दिन नेपाली संगीतसँगै रैथाने र विदेशी परिकारको पनि आनन्द लिन पाउनेछन् ।
