पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–२, पोखराथोकमा खागमौरीले चिल्दा गोफेकका ४५ वर्षीय कमल विश्वकर्माको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङ्मा आरन व्यवसायी गर्दै आएका उनलाई खाना खान घर जाने क्रममा बाटोमा खागमौरीले टोकेको हो ।
बाटाको तल्लो भागमा खाग मौरीको गोला रहेको र अकस्मात उडेर आएको झुण्डले टोकेको प्रहरीले जनाएको छ । उनलाई खान्दुला टोलनजिकै खाग मौरीले चिलेको हो ।
मौरीले चिलेपछि उनी चिच्याएपछि स्थानीयले उद्धार गरेका हुन् । घरमा पुगेको केही समयपछि विश्वकर्मा बेहोस भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो ।
अस्पतालमा चिकित्सकले जाँच गरेपछि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । मौरीले विश्वकर्माको शरीरभरि चिलेको देखिएको स्थानीयले बताए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
