बर्दियामा विषादी प्रयोग न्यूनीकरण गर्न ६ बुँदे प्रतिवद्धता

चैत्र २५, २०८१

रामप्रसाद चौहान 

6-point commitment to reduce pesticide use in agriculture

बर्दिया — विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पर्न थालेपछि ६ बुँदे प्रतिवद्धता जारी गरिएको छ । विषादीको प्रयोग रोक्न स्वास्थ्य कार्यालयले ६ बुँदे प्रतिवद्धता पत्र सोमबार जारी गरेको हो ।

पछिल्लो समयमा खाद्य पदार्थ पोषण प्रवर्द्धन तथा उत्पादनको क्रममा प्रयोग भएको विषादीले मानव स्वास्थ्यमा असर पार्नुका साथै वातावरणलाई पनि हानी गरिरहेको विज्ञहरुको ठहर छ।

 विषादी प्रयोग गर्ने बेलामा कृषकले शरीर नढाकेर प्रयोग गर्दा क्यान्सर जस्ता रोगको चपेटामा पर्ने गरेको चिकित्सकले तर्क गर्छन् । उता तरकारी लगायत खाद्य पदार्थमा विषादी प्रयोग गरी कुर्नुपर्ने अवधि नकुरेरै बिक्री वितरण गर्दा उपभोक्ताहरु विषादी सेवन गर्न बाध्य छन् ।

यस्ता कुरालाई मध्यनजर गरी जिल्लामा विषादी न्युनीकरण गर्न स्वास्थ्य कार्यालयले विषादी प्रयोग गर्दा पर्खने समयलाई पूर्णरुपमा पालन गर्ने, विषादी प्रयोग गर्दा सुरक्षित पहिरन प्रयोग गर्ने र विषादी प्रयोग गर्नु पूर्व प्राविधिक सल्लाह लिई मात्र प्रयोग गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी विषादीको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने असरबारे सचेत गराउने, समाजमा विषादी प्रयोग गरी आत्महत्या जस्ता घटना बढिरहेकोले विषादीहरु सुरक्षित स्थानमा राख्ने र व्यवसायीले उद्देश्यको सुनिश्चित गरी मात्र बिक्री वितरण गर्ने प्रतिवद्धतामा छ । जिल्लास्थित आठ वटै पालिकाका तरकारी किसानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सर्वसहमति जनाएका छन् ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully