गुल्मी — रुपन्देहीको तिलोत्तमाबाट आएका कुश्माखर काफ्ले रेसुंगाको शीतलता अनुभूति गरेर दंग परे । रेसुंगाबारे सुनेका मात्रै काफ्ले बिहीबार साँझ यही बस्ने गरी आएका हुन्। दुरीले टाढा जस्तो लागे पनि रेसुंगाको शीरमा पुगेपछि आनन्द अनुभूति भएको उनले बताए ।
‘प्राकृतिक शीतलतासँगै खानबस्नको राम्रो सुविधा रहेछ,’ उनले भने, ‘रेसुंगा त एकपटक आउनैपर्ने ठाउँ रहेछ।' तिलोत्तमाबाटै आएकी बसना ढकालले पनि बुटवलको गर्मी सम्झँदै रेसुंगामा चिसोको अनुभव गरेको बताइन्। ‘बुटवलको घामबाट आउँदा त यहाँ चिसोले आनन्द दिँदो रहेछ,’ उनले भनिन्, ‘सुविधायुक्त रेसुंगा घुम्नलायक पर्यटकीय क्षेत्र रहेछ ।’
उनीहरूसँगै समूहमा आएका ३५ जना बिहीबार साँझदेखि शुक्रबार दिउँसोसम्म रेसुंगा क्षेत्रमा घुमे । उनीहरूले रेसुंगाको शीतलताबाट आनन्दको अनुभूति गरे । रेसुंगाले रेसुंगासहित तम्घासमा पनि शीतलता थपेको छ । रुपन्देहीको बुटवलसहित आसपासका क्षेत्रमा गर्मी बढेसँगै त्यस क्षेत्रबाट रेसुंगा घुम्न आउनेको संख्या बढ्दो छ।
बिहीबार र शुक्रबार मात्रै २ सय ५० भन्दा बढी पर्यटक त्यसक्षेत्रबाट रेसुंगा घुम्न आएका छन् । महापोखरीको स्नान, चिटिक्क परेको सिँढी, दायाँबायाँ मनमोहक दृश्य, प्राकृतिक शीतलता र चराचुरुङ्गीको रमणीय आवाजले रेसुंगामा आनन्द लाग्ने घुम्न आएकाहरु बताउँछन् ।
रेसुंगा धार्मिक, ऐतिहासिक, पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकोले यसलाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । रेसुंगा र भारतमा रहेको अयोध्यासँग सम्बन्ध रहेको धार्मिक विश्वास रहेको १२ वर्षदेखि रेसुंगामा बसिरहेका गुरु कृष्णप्रसाद पन्थीले बताए । श्रृङ्गे ऋषिले तपस्या गरेकै कारण नाम रेसुंगा रहन गएको पन्थीले बताए । ‘रेसुंगा आध्यात्मिक, धार्मिक, प्राकृतिक र पर्यटकीय तपोभूमि हो,’ उनले भने, ‘गर्मी समयमा रेसुंगा पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुन्छ ।’
रेसुंगामा सिद्धको पूजा गरेपछि मानिसलाई आयु आरोग्य प्राप्त हुने, गाईभैँसी सधैँ दुहुना हुने, अनिकाल हट्ने, अतिवृष्टि र अनावृष्टि रोकिने, सुख, समृद्धि र समुन्नति हुने विश्वास रहिआएको रेसुंगामा १० वर्षदेखि बस्दै आएका गुरु हरिराज भट्टाराईले बताए । ‘रेसुंगाको अर्को क्षेत्र सिद्धमा हरेक मनोकामना पूरा भएकै छन्,’ उनले भने, ‘रेसुंगा क्षेत्र आउने पर्यटक यस्तै कारणले आनन्दमय हुन्छन् ।’ साउन महिनामा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवललगायतका स्थानबाट भक्तजन सिद्धको दर्शनका लागि आउने गर्छन् ।
रेसुंगाबाट धौलागिरी, निलगिरी, माछापुच्छ्र्र्रे जस्ता हिमश्रृंखला पनि रेसुंगाबाट देख्न सकिन्छ । रेसुंगा पोखरी, यज्ञशाला, गौशाला, सिद्ध मन्दिर, भ्युटावरलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएकाले भक्तजनको घुइँचो नै लाग्ने गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
‘हामीले पर्यटकका लागि निःशुल्क आवास र खानाको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘देव, अृमत, पुण्य र सिद्ध भूमि रेसुंगा पर्यटकको तपोभूमि हो ।’ रेसुंगा संरक्षण समितिले यसबारे जानकारी दिन पूजाआजामा सहजीकरण गर्न गुरुहरू राखेको छ ।
गुल्मीको रेसुंगा क्षेत्रमा महापोखरी, महापोखरीसँगको मन्दिर, सानो रेसुंगा, चिटिक्क परेको सिँढी, रेसुंगा र अयोध्यासँग सम्बन्ध राख्ने रेसुंगा यज्ञशाला, रामले वाण हानेर निकालेको रामकुवा, सिद्ध मन्दिर, भ्यू टावर, गौशला र साउने मन्दिर लगायत रेसुंगा क्षेत्रका पहिचान हुन् । रेसुंगा क्षेत्र फागुन, चैत र बैशाखमा लालीगुराँस फूलेर राताम्ये हुन्छ । पुस र माघमा हिउँ परेर सेताम्ये हुन्छ ।
साउनमा साउने मेलामा हजारौं पर्यटक भित्रिन्छन् । रेसुंगामा सार्वजनिक बिदाको दिन ४ सय र बिदाबाहेकका दिनमा १ सय जना हाराहारी पर्यटक आउने गरेका छन् । रेसुंगा नगरपालिकाले रेसुंगा क्षेत्रमा पर्यटक बढाउन ‘जाउँ हिड रेसुंगा’ अभियान संचालन गरेको छ । समुन्द्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा रहेको रेसुंगा लुम्बिनी प्रदेशको ब्यापारिक केन्द्र बुटवलबाट १ सय १३ किलोमिटरमा तम्घास र मात्रै ६ किलोमिटर सडक पार गरेपछि पुगिन्छ ।
